जुम्लाका ६९ हजारले लगाए कोरोनाविरुद्धको खोप

File Photo
File Photo

जुम्लाका आठवटै स्थानीय तहका करिब ८५ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्लाका ६९ हजार ३३२ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ कार्यालयका सूचना अधिकारी प्रेमबहादुर सार्कीले जानकारी दिए।

कूल जनसङ्ख्याको ५६ प्रतिशत अर्थात् ४५ हजार ४८८ नागरिकले पूर्ण मात्राको खोप लगाइसकेका छन्। बुस्टर खोप दुई हजार ८८ जनाले मात्र लगाएका छन्। सबैभन्दा बढी चन्दननाथ नगरपालिका नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन्।नगरभित्रका २५ हजार ९९३ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। कोभिडविरुद्धको पहिलो खोप १३ हजार ९७२, दोस्रो खोप ११ हजार ७९४ र बुस्टर खोप एक हजार २२७ जनाले लगाएको चन्दननाथ नगरपालिका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए। 

पातारासी गाउँपालिकामा पहिलो खोप नौ हजार ४६६, पूर्ण खोप सात हजार ३१५ र बुस्टर १७३ जनाले लगाएका छन्। त्यस्तै कनकासुन्दरीमा कोभिडविरुद्धको पहिलो खोप ६ हजार १०७ र पूर्ण खोप चार हजार ४३६ जनाले लगाएका छन्। सिञ्जामा पहिलो खोप पाँच हजार ३५४ र पूर्ण खोप चार हजार ७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। गुठीचौर गाउँपालिकामा पहिलो खोप सात हजार ५२६, पूर्ण खोप चार हजार ६५७ र बुस्टर खोप ४०७ जनाले लगाएको जनस्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

तातोपानी गाउँपालिकामा पहिलो खोप सात हजार ४४१ र पूर्ण खोप चार हजार ६१६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् भने तिलामा पहिलो खोप पाँच हजार ९५४ र पूर्ण खोप तीन हजार ५९४ जनाले लगाएका छन्। हिमा गाउँपालिकामा पहिलो खोप ६ हजार १९७ र पूर्ण खोप चार हजार ६० जना र बुस्टर १७८ जनाले कोभिडविरुद्धको खोप लगाएको कार्यालय प्रमुख कृष्ण सापकोटाले बताए। पहिलो चरणको खोप लगाउन यहाँका नागरिकले मानेका थिएनन्। परीक्षणका लागि खोप आएको भन्दै धेरैले खोप लगाउन नमानेका हुन्। पछिल्लो समयमा सरकारले सार्वजनिक सेवा प्रवाहमा अनिवार्य खोपकार्ड लागू गरेपछि कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको कार्यालय प्रमुख सापकोटाले बताए।  

हवाई सेवा लिन, सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन र सार्वजनिक भेला, गोष्ठीमा सहभागी हुन अनिवार्य रूपमा खोपकार्ड बोक्नुपर्ने नियम सरकारले लागू गरेपछि खोप लगाउन नागरिकलाई आकर्षित गरेको स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख बताउँछन्। 

    
 

प्रकाशित मिति: : 2022-02-13 14:04:00

प्रतिकृया दिनुहोस्