प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता भएको छ।
सत्ताधारी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादीका सांसदहरुले उनीविरुद्ध महाभियोग दर्ता गरेका हुन्।
उक्त महाभियोगमा ९८ जना सांसदको हस्ताक्षर रहेको बताइएको छ। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र एकीकृत समाजवादी पार्टीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेका छन्।
सांसदहरू सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न पुगेको सचिवालयले जानकारी दिएकाे छ।
प्रधानन्यायाधीशकाे राजीनामा माग्दै नेपाल बार एशोसिएसनले महिनाैंदेखि आन्दोलन गर्दैआएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि इजलास बहिस्कार गरेका थिए। महाभियोग दर्तासँगै चोलेन्द्र शम्शेर जबरा निलम्बित भएका छन्।