मोरङको उर्लाबारी–९ रातेहोली किनारमा एक वर्ष अघि तत्कालिन सङ्घीय सरकारको शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागले निर्माण शिलान्यास गरेको सन्थाल एकीकृत वस्ती विकास परियोजना यतिबेला अलपत्र परेको छ। सो परियोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ फागुन १८ गते ठुलै तामझामका साथ शिलान्यास गरेका थिए। परियोजना शिलान्यास गर्दै ओलीले भनेका थिए– १८ महिना पछि सन्थालहरू झुपडीबाट व्यवस्थित भवनमा सर्ने छन्।
आदिवासी सन्थाल जातिका अति विपन्न एक सय ३२ परिवारलाई सुविधा सम्पन्न घर बनाएर राख्ने कार्यप्रति स्थानीय स्तरमा उत्साह छाएको थियो। १७ करोड लागतको को सो परियोजनाको सरकारले ठेक्का समेत लगाइसकेको छ। सगुन कन्ट्रक्सनले निर्माण गर्ने सन्थाल एकीकृत वस्ती सात कट्ठा १६ धुर जग्गामा फैलिएर बन्ने बताइएको छ। बस्तीभित्र बाल उद्यान, सन्थाल जातीय संग्राहालय पनि निर्माण गरिने योजना छ। तर, उर्लाबारी नगरपालिकाले स्थानीय राते होलीको खोला उकास जमीन खाली गर्न सहयोग नगरेकोले एकीकृत बस्ती निर्माण परियोजनाले गति लिन सकेको छैन। निर्माण कार्य अघि बढ्न सकेको छैन। शिलान्यास स्तम्भसमेत भत्किसकेको छ।
उर्लाबारी नगरपालिकाका उप प्रमुख लक्ष्मीदेवी भण्डारीका अनुसार केहि राजनीतिक व्यक्तिको बहकाउमा परेर जोतभोग गरिरहेका व्यक्तिले जमिन खालि नगर्दा परियोजना अघि बढ्न नसकेको हो। भण्डारीले भनिन्, ‘नेपाली कांग्रेसका मोरङ १ प्रदेश (सभापति) नरबहादुर मोक्तानको अगुवाइमा केहि व्यक्तिले असहयोग गरेकाले साइड खाली गर्न सकेका छैनौं। जहाँ निर्माण हुने स्थान हो। त्यो ब्यक्तिको जमीन होइन।’ राते होली खोलाको उकास जमिनमा परियोजना निर्माण हुन लागेपछि अवरोध गर्न खोजिएको भण्डारीको भनाइ छ। ऐलानी जमीन उपभोग गरिरहेका व्यक्तिले असहयोग गर्दा करोडौंको आयोजना अलपत्र बनेको हो। उपमेयर भण्डारीको भनाइ अनुसार मेयर खड्गबहादुर फागोको अनिच्छापनि परियोजनाको काम अघि नबढ्नुको कारक हो।
एक वर्षअभि मेयर फागोले पूर्व पश्चिम राजमार्गको १०५ फिट भित्र संरचनामा निर्माण गरेको भन्दै स्थानीय केशव सुबेदी र डिल्ली खतिवडाका टहरो डोजर लगाइ भत्काएका थिए। नगरपालिकाको क्षेत्राधिकार भित्र नपर्ने हाइ–वेका संरचना भत्काउन अग्रसर हुने फागो गरिबीको रेखा मुनि रहेका सीमान्तकृत सन्थालको एकीकृत वस्ती निर्माण पनि रोक्न लागिपरेका छन्। स्थानीयवासीका अनुसार १७ करोडको आयोजना सफल हुन नदिने प्रयासमा मेयर नै लागेका छन्। ७ कट्ठा १६ धुर ऐलानी जमिन खाली गर्न कुनै समस्या छैन् तर मेयरकै उक्साहटमा भू–माफीयाहरुले अवरोध गरिरहेको बताइएको छ।
परियोजनालाइ असफल पार्न अगुवाइ गरेका कांग्रेस प्रदेश (क) का सभापति मोक्तान नगर प्रमुख खड्ग फागोका अत्यन्तै निकट व्यक्तिसमेत हुन्। नेपाली कांग्रेस प्रदेश १ का सह–महामन्त्रीसमेत रहेका फागोसंगै मोक्तानले एकीकृत संथान बस्ती परियोजना अघि बढ्न नदिएको उप प्रमुख भण्डारीको आरोप छ। ‘परियोजनाको प्रसंग झिक्दा मेयर सकारात्मक कुरा गर्नुहुन्छ, तर काममा बखेडा झिक्नुहुन्छ,’ उपमेयर भण्डारीले भनिन्, ‘मेयरको द्वैध भुमिकाले आफुहरु आजित बनिसक्यौ।’
कांग्रेस प्रदेश (क) का सभापति मोक्तानले उप प्रमुख भण्डारीको भनाईप्रति असहमति प्रकट गरे। उनले भने– व्यक्तिगत आरोप लगाएर उप–प्रमुखले पन्छिन मिल्दैन। मोक्तानका अनुसार खोला उकास जमीन भनिएपनि भोग चलनको कथा बेग्लै छ। नम्बरी जग्गामा खोलो कुदेको र साविक खोलो भएको उकास जमीन स्थानीय २६–२७ परिवारले उपभोग गरिहेका छन्। ‘जग्गा नाप नक्शा गरी जग्गाधनीको जमीन छुट्याएर खोला उकास जमीन कायम गर्ने काम नगरपालिकाको हो,’ मोक्तानले थपे, ‘जग्गा जोतभोग गरिरहेका स्थानीयसँग नगरपालिकाले समन्वय गर्ने हो भने परियोजनाको काम तत्कालै सुरु हुन्छ।’
उता सन्थाल समुदायका अगुवा बुद्धिलाल सोरेन सरकारले निर्माण गरिदिएको भवनसहितको वस्तीमा बस्ने सपना अधुरै रहने होकि भन्ने चिन्ता व्यक्त गरे। सोरेन भन्छन्, ‘नेताहरूबीच समन्वय नहुँदा हामी अन्यायमा पर्यौं।’
सन्थाल समुदायका धेरैजसोले एकीकृत बस्ती बन्छ र आफूहरुको बसोबासले सार्थकता पाउछ भन्नेमा विश्वास गर्न छोडेका छन्।
एकीकृत बस्ती बनाइने भनिएको जग्गा भोगचलन गर्ने अधिकांस व्यक्तिहरु नरबहादुर मोक्तानका निकट मानिन्छन्। गत स्थानीय चुनावमा स्वतन्त्र उम्मेद्वार भएर वडाध्यक्षमा उठेका मोक्तानले त्योबेला बेला ६ सय ६७ मत ल्याएका थिए। ठुला पार्टी भनिएका कांग्रेस एमालेकै हाराहारीमा वार्डमा मत ल्याएपछि स्थानीयस्तरमा मोक्तानको चर्चा चुलिएको थियो। केहि वर्षपछि मेयर फागोकै जोडबलमा कांग्रेस प्रवेश गरेका नरबहादुर मोक्तान गत अधिवेशनबाट कांग्रेसको प्रदेश (क) सभापति निर्वाचित भएका छन्।
यस विषयमा मेयर फागोले भने,’जोतभोग गर्नेहरूँग छलफल गरेपछि मात्रै वस्ती निर्माणको प्रक्रिया अघि बढ्छ।’ उनले चाडै परियोजना अघि बढ्ने समेत बताएका छन्। बजारक्षेत्रमा अतिक्रमित संरचना भत्काउन पालिकालाइ अधिकार भएको तर, सन्थाल वस्तीको कुरा अर्कै भएको मेयरको भनाइ छ।
एकीकृत सन्थाल वस्ती परियोजना नियोजित रुपमै रोकिएको बारे तालुकदार मन्त्रालय भएकाले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई समग्र वस्तुस्थिति अवगत गराइयो। यस विषयमा मन्त्री झाक्रीले अनभिज्ञता प्रकट गरिन्। उनले भनिन्, ’म गाडीमा छु। मिटिङमा छु।’ पुनः कल गर्दा उनले फोन उठाइनन्।