मुगुका सांसद मोहन बानियाँले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी जुम्लाकी एक महिला असुरक्षित छिन्।
उनले आफूलाई बानियाँका आफन्तबाट चौतर्फी धम्की र प्रलोभन देखाउने काम भइरहेको बताएकी छिन्।
जाहेरी दिँदाको भोलिपल्ट सांसद बानियाँका ज्वाइँले प्रत्यक्ष भेटेर ‘भोलि बिहानै १० बजे तपाईँको लिएको २५ लाख रुपैयाँ दिन्छौँ, जाहेरी फिर्ता लिनुस्’, भनेका थिए।
पीडित महिलाले भनिन्, ‘मैले जाहेरी दिइसकेँ। म निकै पीडित छु। अब जाहेरी फिर्ता हुँदैन। जे गर्छ कानुनले गर्छ।’
जाहेरी फिर्ता लिन आग्रह गर्दै मोहन बानियाँकी छोरीले फोन गरेर प्रलोभन देखाएको उनले बताइन्। मोहन बानियाँको छोरा मदन बानियाँले पनि जाहेरी दिएको दिनमै उनलाई जाहेरीले कुनै असर नपर्ने भन्दै धम्की दिएका थिए।
‘म जाहेरी बोकेर जिप्रका जाँदै थिएँ। बानियाँका छोराले तपाईंले जाहेरी दिँदैमा कुनै असर पर्दैन,’ पीडित महिलाले भनिन्, ‘यस्ता करणी घटना कैयौं बेहोरी सक्यौँ। यसको कुनै तुक छैन।’
बानियाँका आफन्तजनले पटकपटक फोन गरेर या प्रत्यक्ष भेटेर धम्की दिइरहेको उनले बताइन्। पीडित महिलाले एक हप्ता अगाडि सामाजिक सञ्जालमा 'मेरो ज्यान जोखिममा छ। म मरेँ भने सांसद बानियाँकै कारणले मर्नेछु। उहाँ नै जवाफदेही हुनुहुनेछ', भन्दै स्टाटस लेखेकी थिइन्।
पीडित महिलाले जाहेरीमा सांसद बानियाँले नेपालगंजस्थित अप्सरा होटलमा बलात्कार गरेको खुलाएकी छिन्। उनले भनिन्, ‘बानियाँले लिएको रकम फिर्ता गर्ने भन्दै बोलाएर बलात्कार गरे।’