सरकारले कोरोना संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म मनोरन्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्र हल, रात्रिकालीन व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय गरेका हुन्।
मन्त्री कार्कीका अनुसार सार्वजनिकस्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो।
धार्मिकस्थलमा भने जनस्वास्थ्यको मापदण्ड पालना गरी नित्यकर्म धार्मिक पूजा गर्न पाउने, सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एकपटकमा २५ जनाभन्दा बढी उपस्थित नहुने गरी सञ्चालन गर्नुपर्ने, पार्टी प्यालेसमा कुल क्षमता एक तिहाइ मात्र अथवा ५० जनाभन्दा बढी मानिस भेला नहुने गरी सञ्चालन गर्न दिने निर्णय भएको उनले जानकारी दिए।