वीरेन्द्रनगर बसपार्कको दक्षिण उत्तरतर्फ पर्ने सुकुम्बासी बस्तीमा मयाप्रसाद जैशीको सानो घर छ। नयाँ बसपार्कमा सवारी साधनको आवत–जावतले कोलाहलपूर्ण वातावरण, धुलो–धुँवाका बीच रहेर उनी जीवन सँगाल्दै छन्। सिमेन्ट र इँटाले बनाइएको, जस्तापाताले छाएको उनको सानो कटेरो (उनको भाषामा) को बाहिर लेखिएको छ–रेनुका निवास। बुधबार दिउँसो ३ बजे त्यहाँ पुग्दा छोरीको हात समात्दै यता–उता हिँडडुल गरिरहेको अवस्थामा भेटिए उनी । उनकी पत्नी रेनुका कोइराला (जैशी) घरभित्रको काममा व्यस्त देखिन्थिन्।
मयाप्रसादका अनुसार २०६० सालमा श्रीमतीलाई सँगै लिएर उनी रोजगारीका लागि भारत गएका थिए। उनलाई उतै ‘जलविन्दु’ नामको रोगले च्याप्यो। ‘मैले बाहिरी संसार देख्न नसक्ने भएँ। दुवै आँखाको ज्योति गुम्यो,’ उनले रातोपाटीसँग भने, ‘मेरो लागि जीवनमा एउटा बज्रपात आइलाग्यो। त्यही रोगले जीवन एउटा अकल्पित मोडतर्फ धकेलिन पुग्यो।’