प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः भारी मतले निर्वाचित भएका छन्।
देउवाले २७३३ मत पाएका छन् भने केन्द्रीय सदस्य डा. शेखर काेइरालाले १८५५ मत ल्याएका छन्।
मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा डा. शेखर कोइरालालाईपराजित गर्दै देउवा पुनः कांग्रेसको सभापति बनेका हुन्।
कांग्रेसको निर्वाचन समितिका अनुसार दोस्रो चरणको निर्वाचनमा ४६२३ सय मत खसेको थियो।
१३ औं महाधिवेशनबाट सभापति बनेका उनी पुनः कांग्रेसको सर्वोच्च पदमा पुग्न सफल भएका हुन्।
काठमाडौंमा भएको १३ औं महाधिवेशनमा तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल र यसपटककाे १४ औं महाधिवेशमा नेता डा. शेखर काेइरालालाई पराजित गरेका छन्।
पोखरामा भएको १० औं महाधिवेशनमा देउवा गिरिजाप्रसाद कोइराला र काठमाडौंमा भएको १२ औं महाधिवेशनमा सुशील कोइरालासँग पराजय बेहोरेका थिए।
को हुन् देउवा ?
२००३ सालमा डडेलधुरामा जन्मिएका देउवा विद्यार्थी कालदेखि कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेका थिए। नेपाल विद्यार्थी संघको (दोश्रो) महाधिवेशनबाट अध्यक्ष चयन भएका देउवा २०४६ सालपछिका तीनवटै संसदीय निर्वाचन र दोश्रो जनआन्दोलनपछिका दुईवटै संविधानसभा चुनावमा लगातार विजयी हुँदै आएका छन्। देउवा गृहमन्त्री हुँदै २०५२ सालमा पहिलो पटक प्रधामन्त्री बनेका थिए।
२०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक प्रधानमन्त्री बनेका थिए। देउवा पाँचौं पटक देशको प्रधानमन्त्री बनेका छन्। पछिल्लो पटक उनी केपी शर्मा ओलीको बहिर्गमनपछि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका हुन्।
गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उनले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए। २०६२/६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी फेरि नेपाली कांग्रेसमा एकीकृत भएको थियो।
त्यसपछि देउवाले पार्टीमा आफ्नो प्रभाव बढाउँदै लगे। कोइराला परिवारको बोलावाला रहेको कांग्रेसमा उनी लगातार दुई पटक विजयी हुँदै सभापति निर्वाचित भएका छन्।
देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन्। सन् १९८९ देखि १९९० सम्म उनी लन्डन स्कूल अफ इकनिमिक्समा राजनीतिशास्त्रको रिसर्च फेलो रहेका थिए।