सभापतिकाे दाैडबाट पछि हटेनन् सिंह, अवधारणा सार्वजनिक गरेर उम्मेदवारी दर्ता गर्ने

Breaknlinks
Breaknlinks

कांग्रेस नेता प्रकाशमान सिंह आज शनिबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणापत्र सार्वजनिक गर्दैछन्।

सिंहले बिहान १० बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंक्वेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने कार्यक्रम रहेका उनका सहयाेगी युपी लामिछानेले जानकारी दिए।

'अवधारणासँगै सभापतिमा उम्मेदवारी घाेषणा गर्दै हुनुहुन्छ। त्यहीँबाट उम्मेदवारी दर्ताका लागि जाने कार्यक्रम छ,' लामिछानेले भने।

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको कार्यतालिका छ। मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ।

संस्थापनइतरले सभापतिमा साझा उम्मेदवारको कसरत गरे पनि योजना सफल हुन सकेको छैन। हालको समीकरण अनुसार इतर समूहबाट सिंह र शेखर कोइराला चुनावी मैदानमा उत्रिने देखिन्छ। संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा पुनः सभापतिका उम्मेदवार बन्दैछन्।

उनले शुक्रबारको उद्घाटनसत्रमै मतदातासँग अपील गर्दै भोट दिन आग्रह गरे। उनलाई नेता कृष्णप्रसाद सिटौला पक्षले पनि साथ दिने भएको छ।

यसअघि सभापति देउवाकै पक्षमा रहेका वर्तमान उपसभापति बिमलेन्द्र निधि पनि सभापतिका दाबेदार हुन्।

प्रकाशित मिति: : 2021-12-11 08:45:00

प्रतिकृया दिनुहोस्