हिन्दु राष्ट्रको वकालत गर्ने जिम्मा किराँती नेतामा, को हुन् लिङ्देन ?

Breaknlinks
Breaknlinks

रातभर भएको मतगणनाको परिणामले राप्रपा अध्यक्षमा राजेन्द्र लिङदेनलाई बिजयी बनाएपछि परम्परागत रुपमकै राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्दै आएको पार्टीको भविश्य के हुन्छ भन्ने विषयमा बहस सुरु भएको छ। 

हिन्दु धर्म र राजसंस्थाका कट्टर पक्षपाती सुर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जबरा हुँदै कमल थापा जस्ता नेताको नेतृत्वबाट पहिलो पटक राप्रपाको नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको छ। 

राप्रपाको नेतृत्व युवा पुस्तामा मात्र गएको छैन, पहिलो पटक गैर हिन्दुले राप्रपाको आगामी चार वर्षे विरासत धान्ने छन्। लिङ्देन  किराँत धर्म मान्छन्।  तर उनले नेतृत्व गरेको पार्टी राप्रपाका निर्वाचित सबै नेता हिन्दु धर्ममा विश्वास गर्छन्। 

पहिलो पटक गैर हिन्दुले नेतृत्व गरेको पार्टीले अब हिन्दु राष्ट्रको वकालत गर्दा लिङ्देनले अर्को एउटा चुनौती पनि सामना गर्दैछन्। प्यानल बनाएर भएको प्रतिस्पर्धामा उपाध्यक्षमा धवलमशेर राणाबाहेक लिङ्देन प्यानलका सवै पराजित भएका छन्। 

निवर्तमान संस्थापनका नेतासँग सहकार्य गरेर अब लिङदेनले राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्न कति चुनौती खेप्लान, त्यो हेर्न बाँकी छ  । तर, परम्परागत नेतृत्वलाई युवा पुस्तामा ल्याउन राप्रपाका प्रतिनिधिले पुर्‍यएको विवेकले अन्य दललाई समेत नेतृत्व हस्तान्तरणका लागि दबाब भने अवस्य दिएको छ। 


को हुन् लिङ्देन ?

झापाली जनताको ढुकढकी बनेका राजेन्द्र लिङदेनको जन्म २०२२ सालको भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको हो। राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका लिङ्देनले २०३९ सालदेखि राजनीतिक यात्रा शुभारम्भ गरेका हुन्।

राप्रपाको विद्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’को संस्थापक अध्यक्ष समेत हुन्। लिङदेनले २०४९ र २०५४ सालको चुनावमा उनको चुनावी क्षेत्रमा गोलधापमा वडाध्यक्ष विजयी भइ वडाध्यक्षको सफल कार्यभार सम्हालेका थिए।

२०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा समते बनेका लिङदेन २०५६ सालको संसदिय चुनावमा चुनावमा झापा क्षेत्र नं ३ मा तेश्रो स्थानको मत पाएका लिङदेन २०७० सालको चुनावमा दोश्रो हुँदै पराजयलाई आत्मसात गर्नु परेको थियो। उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित हुँदै आएका थिए। उनै लिङ्देनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै यतिबेला चर्चाको शिखरमा छन्। २०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भएका लिङदेन २०७० सालमा राप्रपा नेपालको महामन्त्री भएका हुन्।

यस्तै राजनीतिक यात्रा गर्दै जाँदा लिङदेन यतिबेला झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका लागि निर्वाचित भएका छन्। समान्य गरिब परिवारमा जन्मेर पञ्चायती राजनीति हुँदै बहुदल आएपछि राप्रपाको राजनीतिमा लागेका झापाली नेता लिङदेनले प्रत्यक्षतर्फको जित दिलाएर राप्रपा पार्टीको साख जोगाएका छन्। त्यसो त लिङदेनले स्थानीय निर्वाचनमा पनि झापामा राप्रपाको साख जोगाएका थिए।

प्रकाशित मिति: : 2021-12-05 08:16:00

प्रतिकृया दिनुहोस्