मंसिर १३ गते। यो मिति एमालेको इतिहासमा एउटा महत्वपूर्ण दिन हो तर कमैले मात्र स्मरण गर्ने गर्छन्, यो दिन। यसै दिनमा नेपालमा तत्कालीन नेकपा (एमाले) अध्यक्ष मनमोहन अधिकारी नेपालको प्रधानमन्त्री भएका थिए– ०५१ सालमा।
मनमोहन अधिकारी त्यस्ता श्रद्धेय नेता थिए, जसको नाम सुन्दै श्रद्धाले शीर निहुरिन्छ। नेपाली मनभित्र स्थापित उनीप्रति आदरभाव जागेर आउँछ। कांग्रेसका सभापतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटन गरी गराएको मध्यावधि निर्वाचनमा एमाले सबैभन्दा ठूलो दलका बनेको थियो– ८९ सीट जितेर।
बहुदलीय व्यवस्था पुनर्स्थापनापछि भएको ०४८ सालको आम चुनावमा प्रतिनिधिसभाको २०५ सीटमध्ये ११३ सीट जितेर प्रधानमन्त्री भएका थिए– कांग्रेस सभापति कोइराला। त्यसको तीन वर्षमा उनीसँग असन्तुष्ट ‘३६से समूह’ बनेको थियो– कांग्रेसभित्र।
कांग्रेसभित्रको द्वन्द्वका कारण प्रतिनिधिसभाबाट नीति–कार्यक्रम ‘फेल’ भएपछि उनले प्रतिनिधिसभा विघटन गरेका थिए। दुईतिहाई माग्दै ‘मध्यावधि निर्वाचन’ मा गएका कोइरालाको पार्टीलाई ८४ सीट मात्र जितेर दोस्रो दलको हैसियतमा झरेको थियो। अनि सबैभन्दा ठूलो दलका अध्यक्षको नाताले एमाले अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका थिए।
नेपालका पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री थिए, मनमोहन अधिकारी। उनीसच्चा लोकतन्त्रवादी कम्युनिष्ट थिए। उनले त्यसबेला १५ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए। आठ जना मन्त्री र छ जना राज्यमन्त्री थिए, उनको सरकारमा। तर, ओली नेतृत्वको पहिलो सरकारमा छ जना उपप्रधानमन्त्री भए । जम्बो मन्त्रिमण्डल थियो तर पनि नाकाबन्दीको सामना गरेको जश एमालेले पायो ।
थोरै मन्त्री राखेर पनि देशले सम्झिरहने काम गरेका नेता थिए– अधिकारी। उनको सरकारले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने कार्यक्रम ल्यायो, जसअन्तर्गत प्रत्येक गाउँ विकास समितिमा त्यसबेला सीधै तीन लाख रुपैयाँ पठाउने व्यवस्था गरियो। कांग्रेसले पटक–पटक हटाउन चाहे पनि जनतासँग जोडिएकाले त्यो कार्यक्रम हटाउन सकेन। नाम फेर्दै निरन्तरता दिएको थियो। त्यो बजेटले नेपालको स्थानीय विकासमा सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको थियो।
‘नौ महिने सरकार’ भनिने मनमोहन अधिकारीको प्रधानमन्त्रीत्व काल जम्मा नौ महिना १३ दिनको थियो तर उनैले सुरु गरेका थिए– ‘वृद्ध भत्ता’। ‘नौ ‘स’ अभियान’ भनेर विकासका ग्रामीण क्षेत्रमा चलाइने साना आयोजनाहरुका काम पनि यो सरकारको महत्वपूर्ण काम थियो। सानो सरकारले थोरै समयमा पनि महत्वपूर्ण सुरुवात गर्नसक्छ भन्ने उदाहरण नै हो– मनमोहन सरकार। जसको व्याज अहिलेसम्म एमालेले पाइरहेको छ।
पदमा गएर पनि कद नघटाउने नेपालका पूर्वप्रधानमन्त्रीमध्ये पर्ने थोरै नेतामध्येमा पर्छन्– मनमोहन अधिकारी। यी भद्र नेताको ०५६ साल वैशाख १३ गते निधन भयो। चुनाव प्रचारसभामा भाषण गर्दागर्दै बेहोश भएका उनको त्यसपछि होश आएन। केही दिनपछि मृत घोषित गरिएको थियो।
मनमोहन अधिकारी प्रधानमन्त्री भएको त्यो दिन आज २७ वर्ष पुगेर २८ लागेको छ। संयोग पनि गजबको, आज त्यही मितिमा चितवनको सौराहमा एमालेको नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ– दशौँ महाधिवेशनअन्तर्गत।
मनमोहन सरकारमा गृहमन्त्री रहेका थिए– केपी शर्मा ओली। पर्यटन राज्यमन्त्री भएका थिए– भीम रावल। पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएको दिनमा सोही सरकारमा सहभागी दुई व्यक्तिको पार्टी अध्यक्षका लागि प्रतिस्पर्धा भइरहेको छ।
परिणाम प्रष्टजस्तै छ– केपी ओली एमाले अध्यक्षमा निर्वाचित हुनेछन् तर प्रक्रियामा भने रावलले अडान राखेका कारण चुनावबाटै छिनोफानो हुँदैछ।
०५४ साल फागुन २१ मा एमाले विभाजनपछि ०५६ बैशाख २९ का लागि घोषित आमनिर्वाचनमा फूटको प्रभावबाट पार्टीलाई जोगाउने दौडधूपमै गोठाटारको सभामा अधिकारी बेहोश भएका थिए। त्यसपछि कहिल्यै होशमा आएनन्। एमाले पनि प्रतिपक्षी दलको हैसियतमा खुम्चिएको थियो।
देशभरिका एमाले अहिले सौराहमा भेला भएका छन्। मनमोहन सरकारमै दोस्रो मर्यादासहित उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री भएका माधवकुमार नेपालको नेतृत्वमा एमाले फुटाइएको छ। ‘एकीकृत समाजवादी’ नामको अर्को कम्युनिष्ट पार्टी गठन गरिएको छ। जसको शक्ति आफू जित्नका लागि त कति पुग्ला, एमाले हराउनका लागि चाहिँ पर्याप्त हुँने आँकलन एमालेबाहिर गरिँदै छ। यो परिस्थितिमा भएको एमाले जमघट महत्वपूर्ण छ।
०५४ सालमा एमाले फुट्दा मनमोहन अधिकारी जुन पदमा थिए, अहिले ओली त्यही भूमिकामा छन्। महासचिवका रुपमा माधवकुमार नेपाल शक्तिशाली थिए– त्यसबेला। उनका सामु अधिकारीको जोर चल्दैनथ्यो। अहिले ओलीको अवस्था फरक छ। ओलीले जे चाह्यो, त्यो हुन्छ अहिलको एमालेमा।
मनमोहन अधिकारी (स्व.) र केपी शर्मा ओलीबीच एउटा समानता देखिन्छ। अधिकारीको कद प्रधानमन्त्री छाडेपछि यसरी बढ्यो कि अहिले पनि पाकापुस्ताका अधिकांशले सम्झने र आदर गर्ने राजनेताको कोटीमा पर्छन्।
पहिलोपल्ट प्रधानमन्त्री छाडेपछि बढेको एमाले अध्यक्ष ओलीको कदकै बलमा ०७४ सालको चुनावमा एमाले सबैभन्दा शक्तिशाली दल बनेको थियो। माओवादीलाई पनि खुम्चिएर वाम गठबन्धनमा आउनुपर्ने बाध्यता परेको थियो।
यो भन्न हिच्किचाउनु पर्दैन– समकालीन राजनीतिज्ञमध्ये सबैभन्दा प्रष्ट र प्रभावशाली नेता एमाले अध्यक्ष केपी ओली नै हुन्। तत्कालीन नेकपाभित्रको घेराबन्दी र अदालतको परमादेशका कारण सत्ताबाट प्रतिपक्षमा पुगेका छन्। सर्वोच्च अदालतको ०५२ साल भदौ १२ गतेको प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसलाका कारण संसद्को सबैभन्दा ठूलो दलका नेता मनमोहन अधिकारी सत्ताबाट प्रतिपक्षमा पुगेका थिए, जुन अहिलेको ओलीको अवस्थासँग मिल्दोजुल्दो छ।
एमालेको जारी महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्रीसहितका नेताहरूको उपस्थिति र सम्बोधनबाट ओलीले प्रमाणित गरेका छन्– अहिले पनि एमाले सबैभन्दा शक्तिशाली पार्टी हो। जनसहभागिताबाट यो पनि पुष्टि गर्ने कोशिश गरेका छन्– एमालेको तागत विभाजनबाट पनि घटेको छैन। एमाले कार्यकर्तामा पर्याप्त उर्जा भरेको छ यो महाधिवेशनले।
लोकतान्त्रिक अभ्यासका हिसाब पनि अग्रणी मानिएको दल थियो – एमाले। कांग्रेसले पदाधिकारी मनोनित गर्दा एमालेले सम्पूर्ण पदाधिकारी प्रत्यक्ष निर्वाचित गरेर यसअघि नै लोकतान्त्रिक पार्टीका रुपमा स्थापित गरिसकेको छ। अध्यक्ष ओलीले गरेको सहमतिको कोशिश सफल नभएपछि यो महाधिवेशनमा पनि चुनाव हुँदैछ। यो सामान्य हो।
यसपटक पदाधिकारीको चुनाव हुनुमा दोस्रो तहका नेताहरूको अर्को महाधिवेशनको अध्यक्षका लागि अहिलेदेखिकै पूर्वतयारीको झल्को देखिन्छ। विगतको जस्तो छ महिनाअघिदेखि तल्ला कमिटीहरुमा प्रतिवेदन पठाएर सैद्धान्तिक बहस नहुनुले एमालेभित्र कम्युनिष्ट सिद्धान्त र शैलीको प्रभाव घट्दै गएको प्रष्ट हुन्छ। अर्को हिसाबले व्याख्या गर्नेहरु यसलाई एमाले ‘व्यावहारिक’ हुँदै गएको पनि भन्लान् तर जे भने पनि एमाले खुल्ला राजनीतिमा आएपछि ०४९ माघको पाँचौँ महाधिवशनेदेखिका यसअघिका पाँच महाधिवेशनमा जस्तो बहस यो महाधिवेशनमा भएन।
माधव नेपालले पार्टी फुटाएर गएपछि एमालेमा ओलीको विपक्षी समूह निकै कमजोर भएको छ। विगतमा जस्तो ‘प्यानल’ बनाएर प्रतिस्पर्धा गर्ने अवस्थामा समेत विपक्षी समूह देखिएन तर भीम रावलले अन्तिमसम्म अध्यक्षको दाबी नछाड्नु विपक्षी समूहकै निरन्तरता हो।
एमालेमा अर्को सुन्दर पक्ष पनि छ– पार्टीभित्रको विपक्षीको त्यहाँ अस्तित्व रहन्छ। ०४९ सालपछि मदन भण्डारी जीवितै छँदा प्रतिपक्षी खेमाको नेताको हैसियतमा सीपी मैनाली थिए। ०५३ सालपछि उक्त भूमिका वामदेव गौतमले निभाए। अनि ०५६ सालपछि माधव नेपाल सर्वेसर्वा हुँदा प्रतिपक्षी नेताका रुपमा उदाए– केपी शर्मा ओली। जनकपुरमा भएको सातौँ महाधिवेशनमा ओली महासचिव दाबेदार उम्मेद्वार नबने पनि प्रतिस्पर्धी उनै थिए– माधव नेपालको।
०६३ सालमा एमालेको पराजयको जिम्मेवारी लिँदै माधव नेपालले महासचिव त्यागेपछि झलनाथ खनाल महासचिव बने। अनि बुटवल महाधिवेशनबाट खनाल अध्यक्ष भए तर पराजित ओली प्रतिपक्षीको हैसियतमा रहे। ओलीसँग मिलेर माधव नेपालले खनाललाई दबाबमा राखेका थिए। ०७१ सालमा एमालेभित्र ओलीको उदय भएपछि त्यो भूमिका माधव नेपालले निभाएका थिए। अहिले भीम रावलले खोजेको भूमिका त्यही हो।
आगामी महाधिवेशनमा रावल ७१ वर्ष पुगिसक्ने हुनाले ‘संस्थापनइतर पक्ष’ को नेताको हैसियतमा घनश्याम भुसाल वा सुरेन्द्र पाण्डे हुनेजस्तो अनुमान गर्न सकिन्छ। अहिलेको संस्थापन पक्षबाट भने विष्णु पौडेल र शंकर पोखरेलको उक्त पदमा दाबी हुनसक्ने गरी ‘प्रोजेक्सन’ गरिएको छ तर एमालेमा स्थायी गुट भने देखिँदैन।
यसपटक एक समूहमा लागेकाहरु अर्को महाधिवेशनमा अर्को समूहमा लागेका पनि प्रशस्त छन्। जे होस्, एमालेभित्र प्रतिपक्षीलाई पनि स्थान भने रहँदै आएको छ।
जनताबाट निर्वाचित एसियाकै पहिलो कम्युनिष्ट प्रधानमन्त्रीमा मनमोहन अधिकारी निर्वाचित भएको दिनमा एमाले अध्यक्ष ओली एमाले अध्यक्षमा पुनर्निर्वाचित हुँदै छन्। पदबाट हटेपछि पनि जनताबीच लोकप्रिय नेताको छवि बनाएका थिए अधिकारीले। प्रधानमन्त्रीका रुपमा ओलीको पहिलो कार्यकाल पनि त्यस्तै प्रमाणित भइसकेको छ।
लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको चुच्चे नक्सा जारी गर्नु, सीके राउतलाई पृथकतावादी आन्दोलन त्यागेर मूल धारमा ल्याउनु र विप्लवलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउनु ओलीको पछिल्लो कार्यकालका कसैले पनि टिप्पणी गर्न नसक्ने उपलब्धि हुन्। उनलाई यसबाहेकका मधेशको हुलाकी मार्गसहित मधेशको तल्लो क्षेत्रको विकास निर्माणसहितका कामको परीक्षण आगामी चुनावमा हुने छ।
एमालेका प्रथम अध्यक्ष मनमोहन अधिकारी गुट निरपेक्ष थिए । पाका उमेरका उनलाई 'मनमोहन बा' भन्थे तेस्रो पुस्ताले । यो समूह सानो थियो । उनी पार्टीभन्दा पनि माथि राष्ट्रको नेता बन्न सके । यो ओलीले मनमोहन अधिकारीबाट अनुशरण गर्नुपर्ने विषय हो ।
अहिले 'ओली बा' भन्ने अभियान नै चलेको छ एमालेमा । चितवन अधिवेशनमा त पाकापुस्ताका प्रतिनिधिले पनि 'ओली बा' भन्न थालेका छन् । 'मनमोहन बा' को हक्की स्वभाव र भद्र स्वभाव अनुकरणीय स्वभाव थियो । अधिकारीले कहिल्यै गुट वा समूह हेरेनन् । परिवारका सदस्यलाई राजनीतिक पदमा घुसाउन चाहेनन् । यसमा पनि ओलीसँग समानता देखिन्छ।
ओली गुटबन्दी नगरेको भए अध्यक्षको कुर्सीमै पुग्दैनथे तर अब भने उनलाई गुटको आवश्यकता छैन। अब उनी पार्टीको भन्दा पनि देशको नेता बनिसकेका छन् । भारतसँग शीर ठाडो गरी बोल्नसक्नु उनको राष्ट्रप्रतिको इमान्दारिता हो, जो यसअघिका नेपालका प्रधानमन्त्रीभन्दा बढी उनले गरिसकेका छन्। उनको राष्ट्रवादमाथि प्रश्न गर्नु धार्मिक हिसाबले हेर्दा 'पाप' हो। भौतिकवादी हिसाबले हेर्दा 'अपराध' हो। उनी अहिले पनि देशको सबैभन्दा ठूलो दलका नेता हुन्। संसारभरिका कम्युनिष्टविरोधीका तारो पनि बनेका छन्। भारतीयहरुका लागि 'कन्फर्टेबल' बन्न नसक्नुको कारण पनि उनको राष्ट्रियताप्रतिको अडान नै हो, जो २७ वर्षअघि मनमोहन अधिकारीले पनि भारतीय शासकका सामु नझुकी देखाएका थिए।
मनमोहन अधिकारी एक पटक जम्मा नौ महिना १३ दिन प्रधानमन्त्री भए । ओली दुई पटक गरी झण्डै चार वर्ष प्रधानमन्त्री बनिसकेका छन् । त्यसैले अब समूहको नेताभन्दा माथि उठेर विपक्षी खेमालाई पनि समेटेर अगाडि बढ्नुमा नै नवनिर्वाचित अध्यक्ष ओली र एमालेको भविष्य छ। यसो गरेमा समकालीन राजनीतिका सबैभन्दा प्रष्ट र प्रखर नेताको छवि बनाएका ओली पाँच वर्षपछि पनि सबैले सम्झने व्यक्तित्व भइरहने छन्। दोस्रो कार्यकालको सफलता पनि निर्भर गर्नेछ।