देशको सबैभन्दा ठूलो पार्टी नेकपा (एमाले) को मा पार्टीको दशौँ महाधिवेशनको सरगर्मी बढेको छ। चितवनको नारायणी नदी किनारमा यही शुक्रबार मध्यान्ह उद्घाटन भएर तीन दिनसम्म चल्ने महाधिवेशनले अध्यक्षमा त केपी शर्मा ओलीलाई चुन्ने निश्चित छ तर अध्यक्षबाहेक महाधिवेशनबाट निर्वाचित हुने पार्टी पदाधिकारीको अहिलेको ‘पोजिसन’ ले पार्टीको अर्को पुस्तामा नेतृत्व हस्तान्तरणको आधार तयार गर्ने हुनाले पनि बढी नै रुचि देखिएको छ।
एमाले अध्यक्ष ओली स्वयम्ले दोस्रो कार्यकालका लागि फेरि अध्यक्ष बन्ने घोषणा गरेका छैनन् तर घोषणा नगरे पनि उनी अध्यक्ष बन्ने निश्चितप्रायः छ। उम्मेद्वारी नै दर्ता नगरी हलबाटै सर्वसम्मतिमा अध्यक्ष हुने संभावनालाई उपाध्यक्ष भीम रावलले चुनौती दिएका छन्। रावल एमालेभित्र भएकामध्ये अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन भूमिका खेल्नेमध्ये सबैभन्दा ठूला नेता हुन्। उनले ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्।
एमालेका चयन भएका महाधिवेशन प्रतिनिधि हेर्दा ओलीलाई चुनौती दिने रावलको प्रयास ‘साङ्केतिक’ मात्र हुनेछ। रावलले मतका हिसाबले ओलीलाई राम्रै धक्का दिन सक्ने छैनन्। यदि एमालेका प्रतिनिधिहरूले महाधिवेशनको हलमा उनलाई ‘हुटिङ’ नगरी उनको धारणा राख्न र उम्मेद्वार बन्न दिए भने उनी सफल मानिने छन्।
यो महाधिवेशन रावलको जीवनकालमा एमालेको अध्यक्षमा दाबी गर्न पाउने उमेरसीमाको अन्तिम हो। पाँच वर्षपछि हुने एघारौँ महाविधेशनमा उनी ७० वर्ष कटिसकेको हुनेछन्। त्यसैले करिब चार दशकलामो वामपन्थी राजनीतिक जीवन बिताएका र अध्यक्षभन्दा एक तहमुनिको पदसम्म पुगिसकेका रावलको उम्मेद्वारी स्वाभाविक हो। उनले ओलीलाई चुनौती दिनसक्ने संभावना देखिँदैन।
एमालेको असोज १५–१७ गते ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले पार्टीको पद टुंगो लगाइसकेको छ। अघिल्ला महाधिवेशनमा जस्तो वैचारिक बहस यसपटक भएन। विधान महाधिवेशनले नै पार्टीको पाँचवर्षे कार्यनीति तय गरेको बताइए पनि यसपटक न फरक मत प्रस्तुत भए, न आधिकारिक दस्तावेजमाथि टिकाटिप्पणी नै गर्ने अवसर दिइयो। यसरी हेर्दा एमालेको दशौँ महाधिवेशन वैचारिक छलफलबिना नै नेतृत्व चयनमा केन्द्रित हुने देखिएको छ।
वरिष्ठ उपाध्यक्ष : पोखरेल र नेम्वाङको प्रतिस्पर्धा ?
विधान महाधिवेशनले व्यवस्था गरेका पदहरुमा नेतृत्व चयन गर्नु एमालेको यसै साता सुरु हुने चितवन महाधिवेशनको मुख्य काम हो। यसपटक एमालेले ‘वरिष्ठ उपाध्यक्ष’ भन्ने पद सिर्जना गरेको छ। उक्त पद दुई कार्यकाल महासचिव भइसकेका ईश्वर पोखरेलका लागि सुरक्षित भइसकेको उनीनिकट नेताहरूको दाबी छ तर उनी निर्विरोध नहुने निश्चितजस्तै छ।
‘वरिष्ठ उपाध्यक्ष’ का अर्का दाबेदारका रूपमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सो पार्टी वृत्तभित्र हेरिएको छ। यद्यपि उनले यसबारे कतै कसैसँग पनि मुख खोलेका छैनन्। ‘भलाद्मी नेता’ को छवि बनाएका नेम्वाङको स्वभाव कसैलाई पनि नबिझाउने खालको छ जुन पोखरेलको स्वभावको ठीकविपरीत हो। वरिष्ठ उपाध्यक्षमा उनले दाबी नत्यागेमा पोखरेलका लागि भारी पर्ने अनुमान एमाले वृत्तमा छ।
एमाले अध्यक्ष ओलीले ‘प्रतिस्पर्धामा जो जितेर आउँछ, उही आफ्नो मान्छे हुने’ बताइसकेका छन्। महाधिवेशनको मुखमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियामा अध्यक्ष ओलीले भने, ‘मैले कसैलाई नउठे हुन्थ्यो पनि भन्दिनँ। त्यसो भन्नु पनि दबाब हुन्छ। जसले सबभन्दा बढी ल्याउँछ, उसैलाई मन पराउँछु।’
आठ वर्षसम्म सभामुख र दुवै संविधानसभाको अध्यक्ष चलाइसकेका नेम्वाङ ओलीले नै छाड्न भन्ने हो भने त मान्थे कि तर ओली कसैको पक्षमा नखुल्दा उनले पनि छाड्ने छैनन्। ओलीका विश्वासपात्र मानिने नेम्वाङ लामो समय सभामुख भएका कारण अरु दलका नेताले पनि मान्ने नेता मानिन्छन्।
नेम्वाङलाई एक वर्षपछि नै एमालेको भागमा पर्ने राष्ट्रपति वा सभामुखमध्ये एउटा पदको जिम्मेवारी बहन गर्नुपर्ने भन्दै ‘अनुशासन आयोग’ को सभापति दिएर मनाउने प्रयास हुने एमाले स्रोतको दाबी छ। वरिष्ठ उपाध्यक्षमा यदि पोखरेलविरुद्ध नेम्वाङ नलडेमा उक्त पदमा उपमहासचिव घनश्याम भुसालले उम्मेद्वारी दिने छन्। सहमतिका लागि रावललाई वरिष्ठ उपाध्यक्ष बनाउने संभावना भने अहिलेसम्म लगभग टरिसकेको छ।
उपाध्यक्षमा व्यवस्थापन
वरिष्ठ उपाध्यक्षको उम्मेद्वार नेम्वाङ बनेमा चाहिँ भुसाल वरिष्ठ उपाध्यक्ष लड्ने छैनन्। उनी उपाध्यक्षको उम्मेद्वार बन्ने संभावना रहेको स्रोतले जानकारी दियो। पोखरेल वा नेम्वाङ जो वरिष्ठ उपाध्यक्ष भए पनि ‘कार्यबाहक अध्यक्ष’ सम्म त बन्न सक्लान् तर उनीहरुका लागि पनि कार्यकारी पद यसै पटक अन्तिम हुने छ।
भुसाल वरिष्ठ उपाध्यक्ष बनेमा चाहिँ अर्को कार्यकालका लागि अध्यक्षको सशक्त उम्मेद्वार बन्ने छन् तर एमालेको उनलाई समर्थन गर्ने ठूलो संख्यामा कार्यकर्ता माधव नेपालको पार्टीमा गएकाले उनको उपस्थिति यसपटक त्यति सबल नभएको आँकलन एमाले वृत्तमा गरिँदैछ। भुसाल स्वयम् चाहिँ पोखरेलसँग प्रतिस्पर्धा गर्न इच्छुक रहेको स्रोतको दाबी छ।
चार जना उपाध्यक्षमध्ये दुई उपाध्यक्ष चाहिँ लगभग टुंगो लागेजस्तै छ। एमालेकी वर्तमान उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र माओवादी त्यागेर एमाले रोजेका रामबहादुर थापा महाधिवेशनबाट उपाध्यक्ष बन्ने निश्चितप्रायः छ।
बाँकी दुई उपाध्यक्ष पदमा भने निकै प्रतिस्पर्धा देखिन्छ। उपाध्यक्षका आकांक्षीमध्ये उपाध्यक्ष युवराज ज्ञवाली, नवौँ महाधिवेशनमा छ मतबाट महासचिवमा पराजित भएका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् वर्तमान एमाले सचिव पृथ्वीसुब्बा गुरुङ, नवौँ महाधिवेशनमा उपाध्यक्षमा पराजित लालबबु पण्डित पनि उक्त पदका आकांक्षी हुन्।
यसबाहेक महासचिवको दौडमा रहेका नेताद्वय उपमहासचिव विष्णु पौडेल र शंकर पोखरेल दुईमध्ये एक जनालाई पनि उपाध्यक्ष बनाएर सहमति खोजिने संभावना पनि रहेको अनुमान एमालेभित्र छ।
महासचिवमा महा–भिडन्त
एमालेभित्र सबैभन्दा कडा प्रतिस्पर्धा मानिएको छ– महासचिव पदमा। अध्यक्षपछिको सबैभन्दा महत्वपूर्ण कार्यकारी पद मानिएको महासचिवमा वर्तमान उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले दाबी गरेको पाइएको छ। यद्यपि, दुवैले खुल्ला रुपमा उम्मेद्वारी घोषणा गरेका छैनन् तर दुवै नेताका समर्थकहरु भित्रभित्रै मोर्चा बनाएर जिताउन लागि परिसकेका छन्।
पौडेल यसअघि एमाले–माओवादी एक भएर बनेको नेकपाको करिब पौने तीन वर्ष महासचिव चलाइसकेका नेता हुन्। उनी अहिले पनि एमालेको संगठन विभाग प्रमुख हुन्। ०५१ सालमै संगठन विभाग प्रमुख भएका उनी पार्टीभित्र सङ्गठकका रुपमा स्थापित छन्।
सबै नेताहरुसँग राम्रो सम्बन्ध राख्ने र कार्यकर्तासँग हाँसेर बोल्ने उनी सामाजिक व्यवहारमा राम्रा देखिन्छन्। राजकीय कामका हिसाबले पनि उनी उपप्रधानमन्त्रीसहित दुई कार्यकाल अर्थमन्त्रीसम्म भइसकेका छन्।
अनेरास्ववियूका अध्यक्ष हुँदै एमालेको राजनीतिमा आएका शङ्कर पोखरेल पनि पूर्वमन्त्री र यसअघि तीन वर्षभन्दा लामो समय लुम्विनी प्रदेशका मुख्यमन्त्री हुन्। उनलाई एमाले वृत्तमा ‘सैद्धान्तिक÷राजनीतिक’ नेता भनेर चिन्छन्। नवौँ महाधिवेशनमा एमाले उपमहासचिवमा पराजित भएका पोखरेल त्यसअघि सचिव थिए। कार्यकर्ताबीच घुलमिल नहुने स्वभावका उनी आर्थिक चरित्रमा पनि इमान्दार मानिन्छन्।
नेकपा महासचिव भएर काम गरेको र उपप्रधानमन्त्री, अर्थ र उर्जाजस्ता महत्वपूर्ण मन्त्रालयको मन्त्री भएका कारण राष्ट्रिय राजनीतिमा पौडेलको उचाइ देखिन्छ। विद्यार्थी राजनीतिबाट आएका नेताहरुको प्रभाव एमालेमा राम्रै छ। त्यसैले दुवै नेता अन्तिमसम्म महासचिवका लागि अडिएर चुनाव हुने अवस्था आएमा भने परिणाम यसै भन्न नसकिने अवस्था देखिन्छ।
उपमहासचिव पद दुईबाट एकमा झारिएको छ। उक्त पदका सबैभन्दा प्रवल दाबेदार स्थायी कमिटी सदस्य विष्णु रिमाल रहेको एमालेका एक नेताले जानकारी दिए। रिमाल एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा उनका प्रमुख राजनीतिक सल्लाहकार थिए।
उक्त पदमा एमालेका वर्तमान सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराईको पनि रुचि देखिन्छ। यदि यो पद स्वीकार गरेमा सुरेन्द्र पाण्डेलाई दिन अध्यक्ष ओलीनिकट नेताहरु बताउँछन् तर पाण्डेले भने पहिले आफू महासचिवमा लडेर झिनो मतले पराजित भएकाले त्योभन्दा तलको पदमा जान नमिल्ने अडानमा छन्।
सात सचिव, दोब्बर आकांक्षी
एमालेका अहिले पाँच जना सचिव छन्। महाधिवेशनपछि सात जना सचिव हुने छन्। सात जना सचिवमध्ये त्योभन्दा माथिल्लो पदमा ‘एडजस्टमेण्ट’ नभएमा वर्तमान सचिवहरु प्रदीपकुमार ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट र पृथ्वी सुब्बा गुरूङमध्येबाट केही वा सबै पनि दोहोरिन सक्ने एमाले स्रोतको दाबी छ। यसबाहेक छविलाल विश्वकर्मा (दलित), बिन्दा पाण्डे (महिला), शिवमाया तुम्बाहाङ्फे, रघुवीर महासेठ (मधेशी) सहित डा. राजन भट्टराई, खगराज अधिकारी, भानुभक्त ढकाल पनि उक्त पदका आकांक्षी रहेको बताइएको छ। अधिवेशन नजिकिँदै जाँदा यो सूची अरु लामो बन्दै जानेछ ।
त्यसबाहेक ‘युवानेता’ महेश बस्नेतले आफूलाई सचिवको उम्मेद्वारका रूपमा घोषणा गरिसकेका छन्। आफूभन्दा सक्षम वा वरिष्ठ भए स्वीकार्ने तर जुनियर उठेमा भने आफू पनि उठ्ने मनस्थितिमा पूर्वमन्त्री गोकुल बाँस्कोटा रहेका छन्।
साविक माओवादीबाट आएका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु साह पनि सचिवका आकांक्षी देखिएका छन्। तीनमध्ये रायमाझी ‘सिनियर’ भए पनि लुम्बिनीबाटै धेरै नेता हुने भएकाले उनी सचिव बन्ने संभावना कम छ तर भट्ट सुदूर पश्चिमका भएका र त्यो क्षेत्रबाट पदाधिकारी बन्ने नेता कम भएकाले उनी सचिव हुने संभावना बढी रहेको छ। प्रदेश २ को नेता भएकाले साहको संभावना छ।
फूटको घाउ मेट्ने प्रयास
एमालेका तत्कालीन वरिष्ठ नेताद्वय पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनालले औपचारिक रुपमा पार्टी फुटाएको करिब तीन महिनापछि उक्त महाधिवेशन हुँदैछ। नेपालको नेतृत्वमा भदौ २ गते नेकपा (एकीकृत–समाजवादी) गठन गरेका थिए, जसमा करिब २० प्रतिशत केन्द्रीय सदस्य गएका छन्। औषतमा करिब १० प्रतिशतजति फुटेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईको भनाइ छ।
समयमै चुनाव भएमा चैत पहिलो सातासम्ममा स्थानीय चुनाव हुने छ भने ढिलोमा एक वर्षभित्र संसदीय चुनाव हुँदैछ। उक्त निर्वाचनसम्ममा एमाले विभाजनको घाउ मेटिने गरी पार्टीलाई एकताबद्ध बनाउने अध्यक्ष ओलीले बताउँदै आएका छन्।
एमालेको यसै महाधिवेशनमा कार्यकारी पदका लागि अन्तिम चोटी चुनाव लड्ने नेताको ठूलै समूह हुनेछ। अध्यक्ष ओलीसहित अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, ईश्वर पोखरेल, सुवास नेम्वाङ, लालबाबु पण्डित पनि आगामी महाधिवेशनमा ७० वर्ष नाघिसक्ने छन्।
एमालेभित्र २००९/१० सालका नेताहरुको संख्या ठूलो छ। त्यसपछि २०१७/१९ सालका नेताहरुबीचमा प्रतिस्पर्धा आइपुग्ने छ। त्यसैले अहिलेको महाधिवेशनमा दोस्रो पुस्ताका नेताहरुको पदाधिकारीमा देखिएको प्रतिस्पर्धा भावी नेतृत्वको दाबी पनि हो।
त्यसैले अहिले चुनिने उपाध्यक्ष, महासचिव अर्को पटकका अध्यक्षका प्रवल दाबेदार हुन् भने उपमहासचिव वा सचिव आगामी महासचिवका सबैभन्दा बलिया उम्मेद्वार। त्यसैले पनि अहिलेको महाधिवेशनमा एकै पार्टीका एकै समूहबीच पनि कडा प्रतिस्पर्धा हुनेछ। उम्मेद्वारहरू नवौँ महाधिवेशनमा जस्तो ‘प्यानल’ बनाएर नलडी एक्लाएक्लै प्रतिस्पर्धा गर्ने छन्। यसपटक प्यानल बन्ने छैन।