नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पदाधिकारी सर्वसम्मत बनाउने प्रयास थालेका छन्।
ओलीले वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने तयारी गरिरहेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई आगामी चुनावपछि राष्ट्रपति बनाउने आश्वासन दिएका छन् तर नेम्वाङले अझै पनि त्यसमा सहमति नजनाएको स्रोतले जानकारी दियो।
स्रोतका अनुसार, नेम्वाङले ओलीलाई आफू सहमतिका लागि बाधक नभएको तर आफ्नो पोजिसन नै वरिष्ठ उपाध्यक्ष भएकाले आफ्नो पक्षमा सहमति जुटाउन आग्रह गरेका छन्।
महाधिवेशन प्रतिनिधिको आवाज सुन्न आग्रह गर्दै नेम्वाङले ओलीबाट आफूले तटस्थ भूमिकाको अपेक्षा गरेको बताए। अध्यक्ष पदमा सर्वसम्मत जुटाउन भने आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको उनले ओलीलाई बताएको स्रोतले जानकारी दियो।
अष्टलक्ष्मी शाक्यलाई भने उपराष्ट्रपति बनाउने आश्वासन दिएका छन्। नेताहरूका अनुसार यसअघि शाक्यलाई मुख्यमन्त्रीसमेत बनाएका ओलीले यसपटक सहयोग गर्न आग्रह गरेका हुन्।
आफू उत्तरार्धतर्फ लागेकाले अहिले सबैलाई मिलाएर लैजाने प्रयासमा ओली रहेको उनी निकट नेताहरू बताउँछन्। केपी ओली बन्द सत्रस्थलतर्फ केहीबेरअघि प्रवेश गरिसकेका छन्। प्रवेश गर्ने क्रममा उनले केही प्रतिक्रिया दिएनन्।