कांग्रेस अधिवेशन : कर्णालीमा यस्ता छन् जिल्ला सभापतिका आकांक्षी

फाइल तस्वीर
फाइल तस्वीर

कर्णाली प्रदेशका १० मध्ये तीन जिल्लामा नेपाली कांग्रेसका जिल्ला सभापति चयन भइसकेका छन्। कालीकोटमा अम्बहादुर शाही, हुम्लामा मोहनविक्रम सिंह र मुगुमा ऐनबहादुर शाही सभापति चयन भइसकेका छन्।

सुर्खेतमा थानी र खड्का प्यानलबीच कडा प्रतिस्पधा हुने

सुर्खेतमा वर्तमान सभापति कमलराज रेग्मी, देवकुमारी सुवेदी, रामबहादुर सिंह, नारायण सापकोटा, खड्क पोखरेल, निरञ्जन केसी, यज्ञ बिसी सभापतिका आकांक्षी छन्। बिसी कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री हुन्।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला भएकाले सुर्खेतमा अर्का नेता हृदयराम थानीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

अघिल्लाे अधिवेशनमा थानी प्यानलका कमलराज रेग्मीले अहिले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रहेका बिसीलाई तीन मतले पराजित भएका थिए। सुर्खेतमा थानी र खड्का प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

जाजरकोट : वेदराज सिंह, सनत कार्की, मुक्ति कार्की, सर्वराज खत्री, महेन्द्रबहादुर शाह र इलम शाहले सभापति हुने आकांक्षा राखेका छन्।

दैलेख : कृष्णबहादुर बिसी, घनश्याम भण्डारी, मणिराम रेग्मी, गणेश उपाध्याय र भुपेन्द्रजंग शाही सभापतिका आकांक्षी हुन्।

रुकुमपश्चिम : वर्तमान सभापति प्रेमप्रकाश ओली, कृष्ण रोकाया र खड्क डाँगी सभापति पदका लागि आकांक्षी हुन्।

सल्यान : पूर्व जिविस सभापति ध्रुवराज पुरी, त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगी, एकराज डाँगी, केशबहादुर विष्ट र सन्तोष केसी सभापति पदका आकांक्षी हुन्।

जुम्लामा सहमति गर्ने भन्दै स्थगित

जुम्लामा कांग्रेस जिल्ला अधिवेशन १५ असोजमा हुनुपर्ने हो। तर, सभापतिका लागि सहमति गर्ने भन्दै स्थगित गरिएको छ। हालसम्म पनि सहमति हुन सकेको छैन्। शेरबहादुर देउवा पक्षबाट कर्णबहादुर शाही र पौडेल पक्षबाट वर्तमान पार्टी सभापति दीपबहादुर शाहीबीच प्रतिस्पर्धा हुनेछ।

डोल्पामा सदस्यता विवाद बल्झियो

डोल्पामा सदस्यता विवाद टुंगिन नसकेकाले कांग्रेसका वडा अधिवेशन नै हुन सकेको छैन। वडा अधिवेशन नहुँदा कांग्रेसका जिल्ला सभापतिका आकांक्षी खुलेका छैनन्।

डोल्पामा राप्रपाबाट समायोजन भई पार्टी केन्द्रीय सदस्य रहेका कर्ण बुढाले सदस्यता विवादकै कारण वडा अधिवेशन अनिश्चित भएको बताए। बुढाले एकलौटी सदस्यता वितरण गरेको भन्दै त्यहाँको जिल्ला नेतृत्वले असहमति जनाउँदै आएका छन्।

प्रकाशित मिति: : 2021-10-08 15:01:00

प्रतिकृया दिनुहोस्