भानुभक्त आचार्य
बितेका दुई दशकमा नेपाली पत्रकारिताले अपूर्व रूपमा सङ्ख्यात्मक फड्को मारेको छ। सन् २००१ को तुलनामा २०२१ मा अखबार तीन गुणा, रेडियो १२५ गुणा, टेलिभिजन ७० गुणा र अनलाइन पोर्टल २८३ गुणा वृद्धि भए (हेर्नुस् तालिका)। यही अवधिमा नेपालको जनसङ्ख्या जम्मा २२ प्रतिशत मात्रै बढेको छ। अर्थात् सन् २००१ मा दुई करोड ४३ लाख रहेको जनसङ्ख्या अहिले करीब दुई करोड ९७ लाख छ।
मिडियाको बढोत्तरी किन यति धेरै? कुन नीति वा के आधारमा? नेपालको अर्थतन्त्र र जनसङ्ख्याको बजारले थेग्न सक्ने कति हो? यस्ता घनीभूत विषयमा हामीले बहस गर्नुपर्ने हो। तर, त्यसका लागि फुर्सद कहाँ छ र!
मिडियाको बढ्दो उपस्थिति र भीडले निम्त्याएका केही राम्रा पक्ष पनि छन्। यसले नेपाली पत्रकारहरूमा रोजगारी सिर्जना गरेको होला। यसले अल्पसङ्ख्यक मानिसलाई आफ्नो आवाज मुखरित गर्न उत्प्रेरणा दिएको होला। यसले युट्युब, फेसबूक, गुगल जस्ता डिजिटल प्लेटफर्ममा प्रकाशन भएका समाचार सामग्री बढी हेरिएको आधारमा नेपालमा विदेशी मुद्रा भित्र्याएको होला।
तर, यसका कतिपय नराम्रा पक्षहरू पनि छन्। जस्तै, थोरै जनशक्ति भएका सञ्चार माध्यममा सूचनाको प्रमाणीकरण फितलो छ। एकपक्षीय समाचारहरूको बोलवाला छ। अफवाह फैलाउन सघाएको छ। पत्रकारिताको आवरणमा राजनीतिक कार्यकर्ताहरूको मानहानि र गालीबेइज्जती बढाएको छ। समाचार आफैं खोज्ने भन्दा सञ्चार संस्था अरूका समाचारमा निर्भर हुनुपर्ने अवस्था छ, जसले गर्दा समाचारको बौद्धिक चोरी बढेको छ।