नेता खड्काकाे जिकिर- 'माधव नेपाल घुमि-फिरी कुनै दिन एमालेमै आउँछन्'

बिएल संवाददाता

पूर्वी रुकुम

नेकपा (एमाले)का केन्द्रीय सदस्य एंब लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष खेममान खड्काले एमालेका प्रत्येक कार्यकर्ताले मेहनत र पसिना चुहाएर बनाएकाे पार्टीलाई षड्यन्त्रमूलक ढंगले अध्यादेशबाट फुटाईदिएकाे आराेप लगाएका छन्।

नेकपा एमाले पूर्वी रुकुमद्वारा साेमबार आयाेजित जिल्ला कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै नेता खड्काले माधव नेपालप्रति लक्षित गर्दै ब्यक्तिगत महत्वाकांक्षा, पदलाेलुपता, चरमकुण्ठा तथा सत्ता स्वार्थका कारण नयाँ पार्टी गठन गरे पनि कुनै दिन घुमि-फिरी एमालेमै फर्किएर आउनुपर्ने वातावरण सिर्जना हुनेसमेत जिकिर गरे।

जिल्ला अध्यक्ष टाेपबहादुर ओलीको अध्यक्षता र खेममान खड्काकाे प्रमुख आथित्यतामा सम्पन्न भेलामा नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्यद्वय नन्दलाल शर्मा, निर्माण बुढा (रबि), प्रदेश कमिटी सदस्यहरु बल बहादुर केसी, आशा स्वर्णकार, जिल्ला सल्लाहकार परिषद सदस्य टाेप बहादुर मल्ल लगायतले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए।

नेकपा एमाले पूर्वी रुकुुमका उपाध्यक्ष रुजिधन घर्ती मगरकाे स्वागत मन्तब्यबाट सुरु भएकाे कार्यकर्ता भेलाकाे सञ्चालन पार्टी जिल्ला सचिव लिलामणि गाैतमले गरेका थिए। भेलामा जिल्ला, पालिका, वडास्तरका नेता तथा कार्यकर्ता, विभिन्न जनवर्गीय संगठनका पदाधिकारी सदस्यहरुकाे उल्लेखनीय सहभागीता थियाे।

भेलाले संगठन सुदृढीकरण अभियान, सदस्यता नविकरणलगायत पार्टी कामलाई तिब्र गतिमा अघि बढाउने निर्णय गरेकाे छ। 

प्रकाशित मिति: : 2021-09-13 19:28:00

प्रतिकृया दिनुहोस्