सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारको लागि आह्वान गरेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरु खरो रुपमा विरोधमा उत्रिए।
एमाले सांसदहरुको एउटा मात्र माग थियो- एमालेले कारवाही गरेका सासंसदहरुलाई संसदमा प्रवेश नदिइयोस्, जो अहिले माधव नेपाल नेतृत्वको नेकपा (एस)मा छन्।
बैठककलाई सभामुख अग्निप्रसाद सापकोटाले दुई पटकसम्म १५ मिनेटको लागि स्थगित गर्नुपर्यो। अन्ततः एमाले सांसदहरुको चर्को नाराबाजी रोकिने छाँटकाँट नदेखिएपछि साभामुख सापकोटाले पनि आगामी २५ गतेसम्मको लागि बैठक सार्न बाध्य भए।
बैठकको रोचक सुरुवात
बैठक लगभग निर्धारित समयमै सुरु भयो, चार बजे। बैठक हलमा विभिन्न दलका सांसदहरु क्रमबद्ध रुपमै बसेका थिए। बैठकको सुरुमा राष्ट्रिय गीत बज्यो। सबै सांसदहरु आ-आफ्नो ठाउँबाट उठे।
गीत सकिएपछि सभामुखले आफ्नो चस्मा झिकेर टेबलमा राख्दै पहिलो वाक्य बोले- 'बैठक प्रारम्भ हुन्छ'।
त्यसपछि उनले राष्ट्रपतिबाट आएको बैठक आह्वानको पत्र पढेर सुनाउने अनुमति मागे र सबैलाई पढेर सुनाए पनि। त्यसपछि उनले भने, 'नवौँ अधिवेशनको पहिलो वैठकमा उपस्थित हुनुभएका सबै मान्य सदस्यहरुलाई हार्दिक स्वागत गर्दछु।'
उनले आह्वान पत्र पढेर सक्नबित्तिकै एमाले सांसदहरु आ-आफ्नो कुर्सीबाट जुरुक्क उठे र सबैले टेबललाई हातले बजाउन थाले। उनीहरूले हल्ला गर्न थाले। उनीहरु रोकिएन्।
त्यसपछि समामुखले पनि टेबलको चस्मा लगाउँदै मुसुक्क हाँस्दै भने, 'अरु केही गरेको छैन। स्वागत गर्न त पाइन्छ होला नी !'
सभामुखले यति भन्दा पनि एमाले सांसदहरू रोकिएनन्। निरन्तर हल्ला नै गरिरहे।
समामुखले पनि फेरि हाँस्दै भने, 'स्वागत मात्र गरेको हो। के छ खबर भन्नुस् मान्य सदस्यहरु !'
त्यसपछि उनले एमाले सचेतक विशाल भट्टराईलाई बोल्नको लागि पाँच मिनेटको समय दिएका थिए।