माधव नेपाल बने एकीकृत समाजवादी संसदीय दलको नेता

नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाल चयन भएका छन्।

नयाँ दल दर्ता भएपछि आज बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत दलकाे नेता चयन गरेको हो।

यस्तै राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन भएका छन्। बैठकमा नेता नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन्।

एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलोपटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बाहिर हल्ला भएजस्तो आफूहरु कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन्।

पार्टीभित्र लोकतान्त्रिक पद्धतिलाई स्वीकार्दै अगाडि बढ्ने भन्दै उनले मुलुक र जनतको हितका लागि क्रियाशील रहने र ध्यान जाने बताए।

आउँदो पुस्तालाई जिम्मेवारी सुम्पिँदै अघि बढेका बताएका उनले फिँजाइएका भ्रमलाई चिर्ने जानकारी दिए। राष्ट्र र जनताको स्वार्थ नै आफूहरूको स्वार्थ रहेको बताएका उनले वाह्यमुलुकहरूसँग हातेमालो गर्दै अघि बढ्ने बताए।

वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्ने र पञ्चशीलको सिद्धान्तलाई आत्मसाथ गर्दै एकीकृत समाजवादी अघि बढ्ने अध्यक्ष नेपालको भनाइ छ।

प्रकाशित मिति: : 2021-08-29 13:47:00

प्रतिकृया दिनुहोस्