एमालेलाई विभाजनसम्म पुर्‍याउने १२ मतभेद

दुई–दुईपटक आफूले गरेको संसद् विघटन ठीक र उपयुक्त निर्णय भएको ओलीको तर्क, विघटन ‘प्रतिगामी कदम’ रहेको नेपालको निष्कर्ष । 

२. संसद् विघटनलगायत मुद्दामा राष्ट्रपतिको भूमिका जायज रहेको ओलीको दाबी, राष्ट्रपतिले संवैधानिक मर्यादा मिचेर ओलीको हितमा काम गरेको नेपालको विश्लेषण । 

३. संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको कदमले संविधानको आधारभूत प्रस्तावनालाई अतिक्रमण गरेको, लोकतान्त्रिक प्रणालीलाई गलत दिशातिर धकेलेको ओलीको ठहर, फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको नेपालको बुझाइ । 

४. ओली सरकारको विघटन र देउवालाई प्रधानमन्त्री बनाउनु लोकतन्त्रको रक्षाका लागि अनिवार्य कदम भएको नेपालको विश्लेषण, आफ्नो सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउने नेपालको भूमिका दक्षिणपन्थी कदम भएको ओलीको विश्लेषण । 

५. नेकपा भंग र एमालेलाई विभाजनउन्मुख पुर्‍याउनुमा ओलीको स्वेच्छचारी र निरंकुश कदम जिम्मेवार रहेको नेपालको दृष्टिकोण, नेकपा भंग र एमाले विभाजनमा नेपाल समूहको भूमिका जिम्मेवार रहेको ओलीको तर्क । 

६. सर्वोच्चको २३ फागुनको फैसलापछि माओवादीसँग एकतापूर्वको अवस्थामा एमालेलाई चलाउन ओली तयार नभएको नेपालको दाबी, अधिकतम लचक हुँदा पनि नेपाल सहमतिका लागि तयार नभएको ओलीको तर्क । 

. ‘रअ’ प्रमुखसँग मध्यरातमा भेटेर ओलीले राष्ट्रियतासँग सौदाबाजी गरेको र नयाँ नक्साअंकित पुस्तक वितरणमा रोक लगाएको नेपालको आरोप, आफू प्रधानमन्त्री हुँदा नयाँ नक्सा जारी भएको र राष्ट्रियता बलियो भएको ओलीको दाबी ।

८. आफैँले बनाएको कार्यदलले तयार पारेको दशबुँदे सहमति प्रस्तावअनुसार अगाडि बढ्न नेपाल तयार नभएको ओलीको दाबी, दोस्रो तहका नेताले बनाएको दशबुँदे सहमति प्रस्ताव अपूरो रहेको नेपालको भनाइ ।

९. विवाद टुंग्याउन दुई अध्यक्ष वा वरिष्ठ नेता दुवैको हस्तक्षरसहितको पत्रलाई वैधानिकता दिने व्यवस्था गर्न नेपालको माग, ओलीद्वारा हस्ताक्षरसहित अधिकार दिन अस्वीकार ।

१०. माधव नेपाल लाल गद्दार, देशद्रोही र बिकाउ माल रहेकाले एमालेमा उनलाई कुनै ठाउँ नरहेको ओलीको शृंखलाबद्ध टिप्पणी, भर्‍याङबाट लडेर घाइते भएपछि पनि ओली नसुध्रिएको र उस्तै दम्भ देखाएको नेपालको निष्कर्ष । 

११. ४० महिना प्रधानमन्त्री हुँदा ओलीले जनताप्रति उत्तरदायी भएर काम नगरेको तथा विभिन्न घोटाला गरेको नेपालको आरोप, आफ्नो नेतृत्वको सरकारले अभूतपूर्व राम्रो काम गरेको ओलीको दाबी । 

१२. अन्तिमसम्म कोसिस गर्दा पनि ओली एकताप्रति गम्भीर नबनेकाले विद्रोहको विकल्प रोज्नुपरेको नेपालको भनाइ, नेपाल एमाले विभाजन गर्ने षड्यन्त्रमा फसेको ओलीको दाबी ।

प्रकाशित मिति: : 2021-08-18 10:58:00

प्रतिकृया दिनुहोस्