ओलम्पिक पदाधिकारीलाई ‘चौबाटोमा बाँधेर खेलाडीले कुट्ने’ कानुन बनाउन मिल्दैन सरकार ?

नवीन अर्याल

काठमाडौं

३१ असार २०७८ जापानको टोकियोमा आयोजना हुन लागेको ओलम्पिक प्रतियोगिताको बिदाई समारोहमा अन्य पदाधिकारीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने प्रशिक्षकमा एथलेटिक्सकी इन्द्रा कुमारी मल्ल पनि थिइन्। 

उनलाई त्यतिबेला राष्ट्रपतिसमक्ष चिनजान गराउने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश सिलवालले भनेका थिए– ‘ओलम्पिकमा पहिलो महिला एथलेटिक्स प्रशिक्षकको रुपमा उहाँ टोकियो ओलम्पिकमा भाग लिँदै हुनुहुन्छ।’

आफू पनि महिला, त्यसमा पनि पहिलो महिला राष्ट्रपति बनेर इतिहास रच्न सफल भण्डारी सदस्य–सचिव सिलवालको यस कुराले निकै प्रभावित बनेकी थिइन्। 

हुनपनि राष्ट्रपति भण्डारी प्रभावित नबन्ने कुरै थिएन, किनभने २०२० सालमा टोकियो ओलम्पिकबाटै सुरु भएको नेपालको ओलम्पिक यात्रा ५८ वर्ष आइपुग्दा पहिलो महिला एथलेटिक्स प्रशिक्षकको रुपमा इन्द्राको ‘इन्ट्री’ गर्व गर्न लायक थियो। यसअघि थुप्रै महिला खेलाडीले ओलम्पिकमा भाग लिइसकेका थिए। अझ भनौं यतिबेला महिला खेलाडी बिना नेपालको ओलम्पिक यात्रा पुरा हुन असम्भव झै बनिसकेको छ। 

पहिलो महिला एथलेटिक्स प्रशिक्षकको भूमिकामा इन्द्राको ओलम्पिक सहभागिता नेपाली महिलाका लागि मात्र नभएर आम नेपालीका लागि सुखद अनुभव बन्न सक्थ्यो। 

तर, राष्ट्रपति विद्या भण्डारीको बिदाईलाई नै बिटुलो पार्ने गरि खेलकुदको ओहदावाल पुरुषहरुले महिलालाई कुन दृष्टीकोणले हेर्दा रहेछन् भन्ने कुराको प्रमाण ओलम्पिक कमिटीमा देखिएको छ। 

कोरोनाको बहाना बनाउँदै इन्द्रा कुमारीको नाम काटेर नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको ‘हनुमानगिरी’ गर्ने सन्तोष श्रेष्ठलाई प्रशिक्षकको भूमिकामा ओलम्पिक पठाउने निर्णयले आम नेपाली लज्जित भएका छन्। 

हुनत, जीवनराम श्रेष्ठ काठमाडौंबाट निर्वाचित एमाले (माधव नेपाल पक्ष) संसद पनि हुन्। आफूले नेतृत्व गरेको संस्थामा महिला प्रशिक्षकलाई न्याय दिन नसक्ने श्रेष्ठ आफ्नो चुनाव क्षेत्रका अन्य महिलाको न्यायका लागि कति लड्छन्? यही एउटा उदाहरण काफी छ। ओलम्पिक कमिटीको अध्यक्ष भएपछि श्रीमतीलाई पदाधिकारी बनाउने र छोरालाई जबरजस्ती ‘स्की’ खेलाडी बनाएर विन्टर ओलम्पिक खेलाउन पछि नहटेका श्रेष्ठबाट नेपाली खेलकुदले विकाशको मुद्धामा कुनै आशा गरेको थिएन। तर, इन्द्राको मुद्धामा उनी यति हदसम्म तल झर्छन् भन्ने अनुमान कसैले गरेका थिएनन्। 

यसअघि पनि नेपाल ओलम्पिक कमिटीकै केही तालुकदार पदाधिकारीको डिजाइनमा नेपालगञ्जमा एउटा म्याराथन प्रतियोगिताको मञ्चन गरिएको थियो। टोकियो ओलम्पिकको छनोट भन्दै गरिएको यो प्रतियोगितामा गोपी चन्द्र पार्कीले उपाधि जितेका थिए। न कुनै अन्तर्राष्ट्रिय मापदण्ड, न अन्तर्राष्ट्रिय सम्वन्वय बिना गरिएको यो प्रतियोगिताबाट छनोट भएका पार्कीलाई पछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ‘वाइल्ड कार्ड’ उपलब्ध गराउन अस्विकार गर्यो। यसपछि पार्की छानाबाट झरेझै भए। उनको राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय बेइज्जती भयो। उनको आत्मबलमा ठेस पुर्‍याउने काम नेपाल ओलम्पिक कमिटीले नै गरेको थियो। पार्कीलाई ओलम्पिकमा सहभागी गराउन २७ पुस २०७७ मा सिफारिस गरिएको थियो। उनीसँगै प्रशिक्षकको भूमिकामा सुरुमा चन्द्र गुरुङको नाम पनि सिफारिस भएको थियो। 

तर, नेपाल ओलम्पिक कमिटीले चन्द्र गुरुङको नाम सिफारिस नगरेर सन्तोष श्रेष्ठको नाम सिफारिस गरिएको ओलम्पिक सम्बद्ध सुत्र नै बताउँछन्। ‘कोचको लागि चन्द्र गुरुको नाम तीन पल्ट सिफारिस गरेर नेपाल एथलेटिक्स संघले पठाएको साँचो हो। तर, किन सिफारिस गरिएन थाहा भएन,’ नेपाल ओलम्पिक कमिटीका एक पदाधिकारी बताउँछन्। 

१७ असार २०७७ मा पार्कीको ‘वाइल्ड कार्ड’ अस्विकार भएको जानकारी ओलम्पिक कमिटीले दिएपछि उनको स्थानमा सय मिटर दौडका लागि सरस्वती चौधरीको सिफारिस भएको थियो। ‘वाइल्ड कार्ड’ मा महिला स्प्रिन्टर सरस्वतीको नाम स्विकृत भएलगत्तै प्रशिक्षकको रुपमा इन्द्रा कुमारी मल्लको ‘इन्ट्री’ भयो। 

नेपाल ओलम्पिक कमिटीले पनि उनको नाम स्विकृत गर्दै २० असार २०७८ बाटै टे«निङमा सम्मिलित हुन पत्र पठाएको थियो। लगत्तै उनी ओलम्पिकको तयारीमा जुटिरहेकी थिइन्। 

राष्ट्रपतिबाट बिदा भएर फर्किएका खेलाडी तथा पदाधिकारीको कोरोना परीक्षण २ साउनमा गरिएको थियो। तर, त्यो परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आउनु र इन्द्राको रिपोर्ट मात्र पोजेटिभ आउनुले शंका उत्पन्न गरेको थियो। 

‘मलाई सबैको रिपोर्ट नेगेटिभ आयो। तपाईको मात्र पोजेटिभ आयो। त्यसैले तपाईको नाम ओलम्पिक जाने कोटाबाट काटिएको छ भन्दा छानाबाट खसे झै भए। मलाई कोरोनाको कुनै सिम्टम थिएन,’ इन्द्रा भन्छिन्। 

उनले भोलिपल्टै नेपाल ओलम्पिक कमिटीले कोरोना भाइरसको पीसीआर परीक्षण गराएको सानेपाको स्टार अस्पतालमा पुगेर पुनः परीक्षण गराएकी थिइन। तर, त्यसको रिपोर्ट नेगेटिभ आयो। यसपछि केही गडबडको आशंकाका बीच उनले हेम्स, कान्तिपुर, क्रिस्टलगायत थुप्रै अस्पतालमा कोरोना परीक्षण गराइन्। सबै रिपोर्ट नेगेटिभ छ। ३ तारिखदेखि उनले लगातार स्टार अस्पतालमा पीसीआर परीक्षण गराउँदै आइरहेकी छिन् । सबै रिपोर्ट नेगेटिभ छ। तर, ओलम्पिक कमिटीले भनेको रिपोर्ट मात्र कसरी पोजेटिभ भयो? यो खोजीको विषय हो। 

यो पुरै घटनामा नेपाल ओलम्पिक कमिटीले जीवनराम श्रेष्ठका ‘हनुमान’ श्रेष्ठलाई एथलेटिक्सको प्रशिक्षक बनाएर पठाउने प्रपञ्च रचिसकेको स्पस्ट हुन्छ। 

किनभने पार्कीको प्रशिक्षकको रुपमा नेपाल एथलेटिक्स संघले चन्द्र गुरुङको नाम तीन पल्ट सिफारिस गरेर पठाउँदा पनि नेपाल ओलम्पिक कमिटीले स्विकार गरेको देखिदैन। सन्तोष श्रेष्ठको नाम न एथलेटिक्स संघले सिफारिस गरेको छ, न राष्ट्रिय खेलकुद परिषद्ले नै। सन्तोषको नाम कसरी ओलम्पिक कमिटीले सिफारिस गर्‍यो? 

अर्को कुरा, महिला प्रशिक्षकको रुपमा इन्द्रा मल्लको सिफारिस गर्ने ओलम्पिक कमिटीले उनको कोरोना रिपोर्ट पोजेटिभ छ भनेर झुट किन बोलिरहेको छ? के उसले एक्रिडेशनका लागि इन्द्राको नाम जापान पठाएको थिएन? यसले थप अर्को शंका उब्जिएको छ। 

सद्धाम हुसेन राष्ट्रपति भएको बेला इराकमा राम्रो प्रदर्शन गर्न नसक्ने खेलका खेलाडीलाई मात्र होइन, पदाधिकारीलाई पनि गोली ठोकेर मार्ने गरिन्थ्यो। तर, नेपालमा खुलेआम झुटको खेती गर्ने, खेलाडीको मनोबल तोड्ने, प्रशिक्षकलाई गाली बेइज्जती गर्ने खेल पदाधिकारी राजनीतिक आवरणमा असनमा छोडेका साढे जस्तै उल्टै खेलाडीलाई हान्न दौडिने गरेका छन्। के यस्ता पदाधिकारीलाई ‘गोली ठोक्न नमिले पनि’ चौबाटोमा बाँधेर सबै खेलाडीले कुट्ने कानुन बनाउन मिल्दैन, सरकार?

प्रकाशित मिति: : 2021-07-22 19:29:00

प्रतिकृया दिनुहोस्