पाठ्यपुस्तक व्यापारमा स्कुल र पसलेबीच मिलिभगत, ठगिँदै अभिभावक

शिलापत्र

काठमाडाैं

सेन्ट मेरिज स्कुलमा कक्षा २ मा पढ्ने सुस्मा सुनार (नाम परिवर्तन) लाई स्कुलले तोकेकै ठाउँबाट पुस्तक किन्नुपर्ने बाध्यता छ । उनको स्कुलले कमलपोखरीमा रहेको साहित्य सदन पुस्तकालयमा किताब खरिद गर्न भनेको छ । 

सुस्माकी आमा मनमाया सुनार (नाम परिवर्तन)का अनुसार अन्य स्थानमा किताब खोज्दा झट्ट पाउन मुस्किल हुन्छ । पुस्तक पसलमा सहज रूपमा किताब पाउँदा अभिभावकले छुट पाउँथे । पसलबीच प्रतिस्पर्धा हुन्थ्याे र नाफा कम गरेर भए पनि छुट दिन्थे । तर, विद्यालयले निश्चित पसल ताेकिदिँदा अभिभावक भनेकै मूल्यमा किताब किन्न बाध्य छन् । पुस्तकको अंकित मूल्य जति हो, त्यतिमै किन्नुपर्ने बाध्यता विद्यार्थीको छ । जबकि त्यही पुस्तक अन्य पुस्तक पसलबाट लिँदा १० देखि २० प्रतिशतसम्म छुट पाउने मनमाया बताउँछिन् ।

मनमायालाई पाठ्यपुस्तक मात्र होइन, स्कुलको लोगो छापिएका कपिसमेत तोकिएकै पुस्तक पसलबाट किन्नुपर्ने बाध्यता छ । जसलाई स्कुलले सहज गराइदिने बहानामा लुटेको ठान्छिन्, उनी । ‘छुट दिएदेखि त तोकिएकै ठाउँमा सबै किताब किन्न सहज हुन्थ्यो नि,' उनले भनिन्, ‘तर, छुट नै दिँदैन । बरु त्यही किताब अन्त गएर किन्दा छुट पाइन्छ ।' 

मोडर्न इन्डियन स्कुलमा कक्षा ८ मा पढ्ने सीमा अधिकारीले पनि स्कुलले नै तोकेको स्थानबाट पुस्तक किन्नुपर्छ । जहाँ उनले एक रुपैया छुट नपाएकाे बताउँछन्, सीमाका बुबा पुरुषोत्तम अधिकारी ।

प्रकाशित मिति: : 2021-06-30 19:56:00

प्रतिकृया दिनुहोस्