महाधिवेशनकाे मुखमा ४० वर्ष लामाे देउवा-निधि सम्बन्धमा दरार

शिलापत्र

काठमाडाैं

सम्भावनै सम्भावनाको खेल भनिने राजनीतिमा कट्टर आलोचकबीच आत्मीयता र परिपूरकको रूपमा रहेको सम्बन्धमा परिवर्तन बेलाबखत देखापर्छन्। नेपाली कांग्रेसमा अहिले एकअर्काको परिपूरकका रूपमा रहेका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिबीचको सम्बन्धमा परिवर्तन आएको छ। चार  दशक लामो देउवा-निधि सम्बन्ध हाल चिसिएको कांग्रेस नेताहरू बताउँछन्।

सम्बन्ध चिसिनुमा एउटै कारण छ, निधिको सभापतिमा उम्मेदवारी घाेषणा। १३औँ महाधिवेशनमा सभापतिमा देउवालाई सघाएका निधिले त्यतिबेलै १४औँ महाधिवेशनमा आफूलाई सभापतिमा सघाउनुपर्ने सर्त राखेका थिए। निधिको सर्त मानेका देउवाले अहिले सभापतिमा दोहोरिने निधो गरेसँगै उनीहरूको सम्बन्ध चिसिएको हो। 'उहाँहरूको मित्रता निकै घनिष्ठ हो। निधिले सभापतिमा उम्मेदवारी दिने भनेपछि देउवासँगको सम्बन्धमा दूरी बढेको छ,' नेता रमेश रिजाल भन्छन्।

नेपाल विद्यार्थी संघबाट केन्द्रीय राजनीतिमा उदाएका देउवा र निधि सुरुमा कृष्णप्रसाद भट्टराईसँग नजिक थिए। पछि देउवा कोइराला परिवारसँग नजिक बने भने कालान्तरमा कोइरालाहरूसँगै प्रतिस्पर्धामा उत्रिए। २०५७ सालको पोखरा महाधिवेशनमा देउवा गिरिजाप्रसाद कोइरालासँग सभापतिमा लडेका थिए। कोइराला परिवारसँग प्रतिस्पर्धाका लागि उनले छुट्टै समूहमा मात्रै खडा गरेनन्, लगत्तै पार्टी नै विभाजन गरे।

पार्टी विभाजन गर्दा प्रकाशमान सिंह, खुमबहादुर खड्का, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, दीपकुमार उपाध्याय, बलबहादुर केसी, नारायण खड्का, मिनेन्द्र रिजाललगायतका प्रभावशाली नेता देउवासँग गएका थिए। पछि तीमध्ये अधिकांश काेइराला क्याम्पमा फर्कंदा निधि भने देउवासँगै रहे। 'नेवि संघदेखि नै देउवा र निधि सँगसँगै रहेर काम गरे। देउवापछि नेविसंघको सभापति निधि नै भएका थिए। निधि र देउवाको केमेस्ट्री पहिलेदेखि नै मिलेको हो,' कृष्‍णप्रसाद भट्टराई प्रतिष्ठानका महासचिव विनोदकुमार भट्टराई भन्छन्।

प्रकाशित मिति: : 2021-06-28 17:20:00

प्रतिकृया दिनुहोस्