कम्युनिष्टका नाममा जातिभेदीहरूको शासन

शिलापत्र

जीवन क्षेत्री

दुई दशकअगाडिको कुरा।

बाग्लुङस्थित हाम्रो गाउँको पारिपट्टि पहाडको एउटा कोल्टामा गन्धर्व समुदायका केही घर थिए। उनीहरूको अस्तित्व हामीलाई तब मात्रै महसुस हुन्थ्यो जब वर्षमा एक दुई पल्ट हिउँदमा गाइने दाइहरू सारंगी रेट्दै घरमा आइपुग्थे।

एक दिन त्यो समुदायले निरन्तर भोग्ने यौन हिंसाको प्रत्यक्ष वर्णन सुनेर म छाँगाबाट खसेझैँ भएँ।

नजिकैको गाउँमा अर्को समुदायको बिहे थियो। बिहेमा वरिपरिका धेरै गाउँबाट रमितेहरू आएर बाजातालमा नाच्नु र रातभर रमाइलो गर्नु सामान्य थियो। त्यस क्रममा सानाठूला विवाद र झडपहरू पनि मनग्ये हुन्थे।

त्यस दिन पनि गन्धर्व समुदायका मानिसहरू सानो झुण्डमा एक छेउमा उभिएर त्यो बिहेको रमिता हेरिरहेका थिए। त्यत्तिकैमा केही गैर–दलित युवाहरू गएर त्यहाँबाट दुई जना किशोरीहरूलाई ताने। भुस्तिघ्रेहरूका अगाडि किशोरीहरूको त केही जोड चलेन नै, तिनीहरूसँगै भएका वयस्कहरूले समेत तिनको प्रतिकार गर्न सकेनन्।

बाबुआमा र छिमेकीका आँखैअगाडिबाट लतार्दै तल पुर्‍याइएका ती किशोरीहरू सामुहिक बलात्कारको शिकार भए। तर रातको रमिता यसरी जारी रह्यो, मानौँ कि त्यहाँ केही अनौठो वा अस्वभाविक भएकै थिएन, अपराधका त कुरै छाडौँ । न कुनै विरोध, न उजुरी। अरु असंख्य यौन हिंसाका घटना झैँ त्यो घटना पनि थामथुम भयो।

समाजका अरु समुदायहरूमा पनि यौन हिंसाको समस्या थियो तर दलितहरू जनसंख्याको अनुपातमा धेरै गुणा बढी पीडित थिए। उनीहरूका फुसका घरमा गतिला ढोकाहरू नहुने हुँदा एक लात्तीले ढोका पल्टाएपछि पीडकहरू सिधै भित्र जान सक्थे।

प्रतिकार वा कानुनी उपचारको व्यवस्था नहुँदा कति दलित किशोरी र युवतीहरूका लागि कथित उपल्लो जातिबाट हुने यौन हिंसा नियमित जस्तै थियो।

प्रकाशित मिति: : 2021-06-27 10:20:00

प्रतिकृया दिनुहोस्