नेपाली पर्फोर्मेन्स आर्टको ऐतिहासिक रूपरेखा

मुकेश मल्ल

समसामयिक कलाको इतिहासमा पर्फोर्मेन्स आर्टको औपचारिक शुभारम्भ सन् २००३ मा भयो। यस वेला यो पर्फोर्मेन्स कलाको स्वरूप कला कार्यशालाको एउटा महत्वपूर्ण अंगका रूपमा देखापरेको थियो। २७ कलाकार सम्मिलित ‘कक्सिङ द नेचर’ नाम गरिएको यो कार्यशाला आफैँमा अजब–गजब कलाको आन्दोलन थियो। सूत्र भन्ने एउटा कलाकारको समूहले कलागत आह्वान ‘क्यानभासबाट बाहिर आऔँ’ भन्ने नाराका साथ काठमाडौंमा अवस्थित ओशो तपोवनमा यो कार्यशालाको आयोजना गरेको थियो। नोभेम्बर ३० देखि डिसेम्बरको ६ सम्म भएको यो कला कार्यशालामा अत्यधिक समसामयिक कला प्रयोग भएका थिए। ओशो तपोवनभित्रै रहेका जमिन, रूख, पोखरी, सिँढी, डिल, खोल्साखाल्सी, खोला, झ्याङ, अनि प्राकृतिक अवयव कलाकारका पात्र र सहपात्रका रूपमा उभिएका थिए। मूलतः इन्स्टलेसन आर्टले बढी मात्रामा थिचे पनि पर्फोर्मेन्स आर्टकासाथै साइट स्पेसिफिक वर्क, अर्थ वर्क, कन्सेप्चुअल आर्ट आदि उत्तरआधुनिक कलाका सबैजसो प्रवृत्तिलाई यो कार्यशालामा समेटिएको थियो। विशेषगरी यसवेला कन्सेप्चुअल कला अर्थात् कलामा अवधारणाले प्रवेश पाएको थियो। कलामा यसको पकड यति बलियो भयो, पछिल्लो कालमा आएर सामान्यतः कुनै प्रकारका कलामा पनि यस अवधारणाको उपस्थिति अनिवार्य भएको देखिन्छ।

कलाकार रित्तो हात जानुपर्नेदेखि कला कार्यशाला अवधिभर ओशो तपोवनबाट बाहिर जान नपाउने नियम थियो। सामान्यतः यस्ता कार्यशालामा कलाकार आफूलाई चाहिने सामग्री लिएरै जान्छन्। लिएरै आउन आग्रह पनि गरिन्छ। कार्यक्रमको सुरुका दुई दिन ओशो तपोवनको वातावरणलाई अवलोकन मात्र गर्नुपर्ने बाध्यात्मक थप नीति–नियम पनि बनाइएको थियो। जसले गर्दा पहिलेदेखि मनमा रहेका कल्पना मेटिएर नितान्त नौला भावना र विचार आओस् भन्ने उद्देश्य राखिएको थियो। यी र यस्तै नवीन कुराले यो कला कार्यशाला त्यसअघि हुने गरेको भन्दा नितान्त फरक हो भन्ने सोच कलाकारमा पर्न गएको आभास समेत हुन्थ्यो। मूलतः कला कार्यशालाकोे यो मुख्य विशेषता हो। कला सिर्जना गर्नुअघि बाध्यात्मक, नीति–नियममा बाँधेर, परम्परादेखि अभ्यास हुँदै आएको कलाका शैली र प्रवृत्तिलाई भाँच्दै अलग्ग धारमा प्रवेश गर्ने/गराउने चेष्टा भएको थियो। जुन सम्भवतः कलाको इतिहासमा सर्वथा नौलो प्रयोगका रूपमा स्थापित भएको छ। त्यति वेला यसको परिकल्पना अनि डिजाइन गर्ने, कार्यान्वयन गर्ने आफैँ पनि सर्जकको रूपमा संलग्न हुने कलाकारमा गोपाल कलाप्रेमी श्रेष्ठ, सुजन चित्रकार, अस्मिना रञ्जित र मनीषलाल श्रेष्ठ आदि थिए। 

प्रकाशित मिति: : 2021-06-26 11:41:00

प्रतिकृया दिनुहोस्