तिलोत्तमामा अनुदानमा फलफूलका बिरुवा वितरण

File photo
File photo

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनुदानमा फलफूलका विरुवा वितरण शुरु गरेको छ। 

हरेक वर्ष ५० हजार विरुवा रोप्ने नीति लिएको तिलोत्तमामा चालु आर्थिक वर्षमा २० हजार फलफूल र ३० हजार वनस्पतिजन्य विरुवा रोप्ने योजना छ। 

विरुवा रोपणमा नगरबासीलाई प्रोत्साहन गर्न नगरपालिकाले फलफूलका विरुवामा ५० प्रतिशत अनुदान दिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए। 

नगरपालिकाले २०७७ चैत २४ र २०७८ वैशाख ७ गते सार्वजनिक सूचना प्रकाशित गरी नगरबासीसँग फलफूलका विरुवाको लगत माग गरेकामा सोही मागअनुसार फलफूलका विरुवामा अनुदान दिइएको जनाएको छ। 

नगरपालिकाले आँप, लिची, कटहर, कागती, अनार, एभोकाडो, ड्रागन फ्रुट, मेवा, अम्बा, अमलालगायत फलफूलका विरुवामा अनुदान उपलब्ध गराएको हो। नगरपालिकाले वनस्पतिजन्य विरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ। 

ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा अभियान चलाएको तिलोत्तमा नगरपालिकाले नगर सरसफाइ र हरियाली प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ। 

सोहीअनुसार यो वर्ष पनि वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिइएको नगर प्रमुख घिमिरेले बताए। पर्यावरण संरक्षण अहिलेको अपरिहार्य आवश्यकता भएको बताउँदै उनले वनस्पतिजन्य विरुवा रोपणमा विभिन्न सङ्घसंस्था, सामुदायिक वन, पार्कसँग सहकार्य गरिएको बताए। 

फलफूलका विरुवा रोपणले एकातिर हरियाली प्रवद्र्धन हुने र अर्कोतिर फलफूलको उपलब्धतालाई बढाईं नगरबासीको स्वास्थ्यमा टेवा पुर्याउने भएकाले अनुदानको व्यवस्था मिलाइएको उनले स्पष्ट पारे। 

नगर प्रमुख घिमिरेले रोपिएका विरुवाको उचित हेरचाह गर्न समेत सबैलाई आग्रह गरे। तिलोत्तमाले सडक किनारमा वृक्षरोपण गर्ने, घरनक्सा पास गर्दा पाँच विरुवा अनिवार्य रोपणदेखि जन्म दिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई आह्वान गर्नेलगायत हरियाली प्रवद्र्धनका काम गर्दै आएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-24 21:11:00

प्रतिकृया दिनुहोस्