जातको प्रश्न र मैले भेटेका उत्तर

शिलापत्र

रमण जैसेरी

जातको प्रश्न मेरो मनमा धेरै अघिदेखि आएको प्रश्न हो। जातको उत्पत्तिका बारेमा जान्ने इच्छादेखि लिएर आफ्नै पुर्खाहरूका बारेमा जान्ने मेरो उत्कट आकाङ्क्षा पनि निकै पुरानो हो। परिवारमा स्थापित मान्यता र विद्यालयमा सिकिने नयाँ मूल्यहरूका बीचको अन्तरद्वन्द्वमा निकै वर्षहरू बिते। विचारमा स्वतन्त्र हुनका लागि पनि पहिले त व्यवहारमा स्वतन्त्र हुनुपर्दो रहेछ। आफ्नै खुट्टामा उभिने भइसकेपछि आफ्नै अडान बनाउने साहस र आधार पनि खडा हुँदो रहेछ। हालको परिवर्तित विचारको आधार वा कारण पनि आफूमा भएको यही परिवर्तन हो। नत्र म त्यही परिवार र समाजमा रहेर सायदै मेरो परिवर्तित विचारसहित सहज जीवनयापन गर्न सक्ने हुन्थेँ।

व्यक्तिवादी समाज र सामूहिकतालाई प्राथमिकता दिने समाजमा परिवर्तन फरक किसिमले हुँदो रहेछ। व्यक्तिवादी समाजमा परिवर्तन सहज हुन्छ भने सामूहिकतालाई प्राथमिकता दिने समाजमा समूहका सबै राजी नभएसम्म परिवर्तन कठिन हुन्छ। नेपालमा जातका कुरालाई लिएर हालसम्म पनि विभाजित मानसिकता हुनुपछाडिको कारण पनि यही हो। समाजको त के आफ्नै परिवारमा पनि जातलाई लिएर फरक–फरक विचार पाएको छु। समाज भनेको परिवारकै विस्तारित रूप न हो।

जातलाई लिएर सार्वजनिक जीवनमा व्यक्त हुने विचार र निजी जीवनमा पोखिने विचारमा एकरुपता नहुनु हालको समस्या हो। सार्वजनिक जीवनमा उदार विचार राख्नेहरूसँगको निजी संवादका क्रममा व्यक्त हुने विचारहरूकै आधारमा यस्तो सोच्न बाध्य भइएको हो। प्राय: जातलाई सही मान्नेहरूको तर्क पेसागत बाँडफाँटबिना कसरी समाज चल्छ भन्ने हुन्छ। त्यसपछि बढी सुनिने तर्क भनेको सरसफाइको विषयलाई लिएर हो। अनि सुषुप्त रूपमा जातीय दम्भ जैविक रूपमा पनि आफू उच्च छु भन्ने भ्रम पाल्नेहरू बेलाबेला पोख्ने गर्छन्। कुनै बेला म आफैँ पनि यी तिनै किसिमका सफाइहरू सही मान्थेँ। त्यसैले यो आलेख मेरै बुझाइमा आएको परिवर्तनको अभिलेख पनि हो।

प्रकाशित मिति: : 2021-06-23 10:30:00

प्रतिकृया दिनुहोस्