नेपाल एसोसिएसन युएईको सदस्य बन्नेलाई यति धेरै फाईदा

नेपाल एसोसिएसन युएईले युएईमा कार्यरत नेपालीहरुका लागि विभिन्न कल्याणकारी योजनाहरुसहित सदस्यता वितरण शुरु गरेको छ।

एसोसिएसनले सोमबार साँझ जारी गरेको सुचना अनुसार संस्थाको सदस्यता लिनेहरुले निशुल्क पिआरओ सेवा तथा करियर काउन्सिलिङ्ग, कानूनी सेवा तथा जागिर खोज्नेहरुलाई लाग्ने प्रशासनिक दस्तुरमा ५० प्रतिशत छुट, युएईमा अलपत्र परे वा दु:ख परेमा १५ दिनको लागि निशुल्क सेल्टर र उडानको व्यवस्था गर्ने लगायतका सुविधाहरु पाउनेछन्।

युएईको कानूनी वैधानिकता पाएको नेपाल एसोसिएसनको सदस्यको समयावधि दुई वर्षको रहने र ५० दिराम सदस्यता शुल्क लाग्ने एसोसिएसनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

डेढ वर्षअघि स्थापना भएको एसोसिएसनले सदस्यता विस्तारका लागि सार्वजनिक आह्वान गरेको यो पहिलोपटक हो। संस्थालाई युएईमा कार्यरत सबै नेपालीहरुको पहुँचमा पुर्‍याएर अपनत्व महसुस गराउन सदस्यता खुला गरिएको नेपाल एसोसिएसन युएईका अध्यक्ष रमेश श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिए।

यसैगरी एसोसिएसनका सदस्यहरुले युएईका विभिन्न व्यवसायिक संस्थाहरुमा विशेष छुटको लाभ पाउने र कसैको मृत्यु भएमा मृतकका परिवारलाई १ लाख नेपाली रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराईने श्रेष्ठले जानकारी दिएका छन्।

गत वर्ष कोभिड महामारीका कारण अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दारमा खेलेको भूमिका र दूतावासबाट प्रदान गरिने सेवासुविधा उपलब्ध गराउन गरेको समन्वयका कारण नेपाल एसोसिएसन युएईमा लोकप्रिय बन्दै गएको छ।

पछिल्लो ३ महिनामा मात्रै एसोसिएसनले करिब १५ सय नेपालीलाई राहदानी नविकरण, कागजात प्रमाणीकरण तथा श्रम नविकरण सम्बन्धि सेवाहरु निशुल्क प्रदान गरेको एसोसिएसनले जनाएको छ।

प्रकाशित मिति: : 2021-06-22 07:10:00

प्रतिकृया दिनुहोस्