नेकपा माओवादी केन्द्रले नेकपा विघटनपछि एमालेमा गएका स्थानीय जनप्रतिनिधिलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेकाे छ।
साेमबार बसेकाे पार्टीकाे बैठकले एमाले राेज्ने दुई मेयरसहित १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको हो।
निष्कासन हुनेमा २ जना मेयर र ५ जना उपमेयर रहेका छन्। निष्कासित मेयरमा रौतहटका मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह र कटरियाका सियाराम कुशवाह छन्।
कारवाहीमा परेका उपमेयरहरुमा रौतहट देवाही गोनाही नगरपालिकाकी परनिया देवी, रौतहटकै मौलापुरका गौरिशंकर जयसवाल, फतुवाविजयपुर रौतहटकी उपप्रमुख कान्ती देवी र मानवनारायण रौतहटकी उपप्रमुख सिमल साह छन्।
त्यस्तै, कैलाली भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटा,सम्सी गाउँपालिका महोत्तरीका अध्यक्ष शेष फारुक र यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गितादेवी साहलाई पनि माओवादी केन्द्रले कारबाही गरेको छ।
यसैगरी माओवादीले ४ जना वडा अध्यक्षलाई पनि कारवाही गरेकाे छ। कारवाहीमा परेका वडाध्यक्षमा गौरीगंगा नगरपालिका–४, कैलालीकी वडाध्यक्ष भागिरथी विष्ट, गोदावरी नगरपालिका–१, कैलालीका वडाध्यक्ष शर्मानन्द भट्ट, बर्दगोरिया नगरपालिका–४, कैलालीका वडाध्यक्ष पुरन बिसी र चम्पादेवी गाउँपालिका–७, ओखलढुंगाका वडाध्यक्ष सुरेश कुमार थापा छन्।
यसअघि, बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले पार्टी छाडेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। सोही अनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो।