माओवादीले एमाले प्रवेश गर्नेकाे सट्टा नयाँ केन्द्रीय सदस्य थप्दै, युवालाई प्राथमिकता

बिएल संवाददाता

बिएल संवाददाता

नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य थप्ने तयारी थालेकाे छ। माओवादीले ४० वर्षमुनिका युवालाई  प्रथामिकता दिएर केन्दीय समितिमा ९९ जना सदस्य थप्ने तयारी थालेकाे हाे। 

एमालेसँग पार्टी एकता भङ्ग भएपछि नयाँ सङ्गठन निर्माणको तयारीमा रहेकाे माओवादीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २९९ सदस्यीय बनाउने उल्लेख रहेकाे स्राेतले जानकारी दिएकाे छ।

स्राेतका अनुसार नयाँ संगठनबारे सुझाव सङ्कलन गर्न गठित ६ सदस्यीय कार्यदले ९९ जना सदस्य थप्ने सुझाव दिएको हो। सदस्य थप्दा महिला र दलितलाई  काेटा समेत कायम गरिएकाे छ।

त्यस्तै, माओवादीले पार्टी छाडेकालाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ। सोमबार भर्चुअलमा बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी छाडेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाटै निष्कासन गरेर कारवाही गर्ने निर्णय गरेको हो।

यसअघि, बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले पार्टी छाडेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। सोही अनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो।

माओवादी केन्द्रबाट चुनाव जितेका र पछि एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि छन्।

प्रकाशित मिति: : 2021-06-21 14:52:00

प्रतिकृया दिनुहोस्