नेपालमा पिसिआर कीट पठाउन खाडीका नेपालीले उठाए ४७ लाख रुपैयाँ 

Breaknlinks
Breaknlinks

नेपाल सरकारलाई कोरोना विरुद्धको लडाइँमा सहायता गर्न युएईमा कार्यरत नेपालीहरुले सञ्चालन गरेको 'मातृभूमि सहयोग अभियान' अन्तिम चरणमा पुगेको छ।

नेपाली दूतावासको संरक्षकत्वमा गएको १७ मे तारिखबाट सुरु गरिएको अभियानमा अहिलेसम्म करिब ४७ लाख रुपैयाँ संकलन भईसकेको संयुक्त राहत संकलन समितिका प्रवक्ता तथा नेपाली समाज युएईका महासचिव बेदप्रसाद अर्यालले जानकारी दिएका छन्।

अक्सिजनको अभावमा कोरोना संक्रमितहरु मर्ने क्रम बढेपछि युएईमा क्रियाशिल नेपाली संघसंस्थाहरुले अक्सिजन तथा भ्याक्सिन पठाउने उद्देश्यले अभियान शुरु गरेका थिए।

अभियानमा नेपाल एसोसिएसन, गैर आवसिय नेपाली संघ, नेपाली समाज, विभिन्न राजनीतिक दलका प्रवाश संगठनहरुसहित युएईमा क्रियाशिल सयभन्दा बढी नेपाली संघसंस्थाहरु जोडिएका छन्।

पछिल्लो समय नेपालमा अक्सिजनको अभाव नदेखिएकाले अभियानबाट संकलित पैसाले पिसिआर कीट खरिद गरेर पठाउने निर्णय गरिएको अभियानकर्मी तथा राहत संकलन समितिका लेखा संयोजक एकेन्द्र बहादुर थापाले बताए।

उनले अहिलेसम्म संकलित रकमबाट ५९ हजार ५ सय थान पिसिआर कीट खरिद गर्न सकिने जानकारी दिए। पिसिआर कीट खरिदका लागि कोटेसन माग गरिसकिएकाले केही दिनभित्रै खरिद प्रक्रिया सकिने थापाले जानकारी दिएका छन्।

नेपालमा अक्सिजनको आपूर्ति सहज हुँदै गएको र भ्याक्सिन खरिदका लागि 'जि टु जि' प्रणालीबाट जानुपर्ने भएकोले अहिलेको आवश्यकतालाई ध्यान दिँदै पिसिआर कीट खरिद गरेर पठाउन लागिएको नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले बताए।

प्रकाशित मिति: : 2021-06-20 07:47:00

प्रतिकृया दिनुहोस्