दिल्ली जानुअघि झलनाथले भने: अहंकार र बदलाभाव त्यागेर पार्टीलाई फुटबाट जोगाऔँ 

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशका प्रमुख दलहरु र तिनका नेताहरु बिचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गर्ने आग्रह गरेका छन्। 

स्वास्थ्य समस्यामा आएपछि थप उपचारका लागि नयाँ दिल्ली जानु अघि एक वक्तव्य जारी गर्दै खनालले राष्ट्रिय एकता-अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था भएको बताएका हुन्।

'देशका प्रमुख दलहरु र तिनका नेताहरु विचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ। हामी सबै एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु', उनले भनेको छन्। 

देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले आफूलाई धेरै चिन्तित बनाएको भन्दै खनालले यस्ता कार्य यथाशीघ्र अन्त्य गरिनु पर्ने बताएका हुन्।

उनले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीका बैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता कार्यकर्ताहरुलाई आह्वान गरेका छन्। 

'विगतमा हामी सबै मिलेर ठुलाठुला सफलताहरु प्राप्त गरेको स्मरण गरौं। एकता सफलताको बाटो हो भने फुट बिनासको। त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीका बैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चहान्छु', वक्तव्य भनिएको छ, 'पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं। त्यसैले टुट-फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चहान्छु।'

रगतमा हेमोग्लोबिनको मात्रा कमी भएपछि नर्भिक अस्पतालमा उपचार गराइरहेका खनाल थप उपचारका लागि आज भारत प्रस्थान गरेका छन्। 

प्रकाशित मिति: : 2021-06-16 13:56:00

प्रतिकृया दिनुहोस्