कोरोना रोकथामका लागि अबुधाबीमा नयाँ नियम लागू

Khaleejtimes.com

युएईको राजधानी अबुधाबीमा अबदेखि 'अल होस्न' मोबाईल एप्लिकेसनमा हरियो पास (संकेत) नभएका व्यक्तिहरुले सार्वजनिक स्थलमा प्रवेश गर्न नपाउने भएका छन्।

कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि युएईको स्वास्थ तथा रोकथाम मन्त्रालयको स्वीकृतिमा अबुधाबीको आपतकालीन संकट व्यवस्थापन समितिले मंगलबारदेखि यस्तो नियम लागू गरेको हो।

नयाँ नियम अनुसार १६ वर्ष र सोभन्दा माथिका व्यक्तिहरुका लागि अबदेखि स्विमिङ्ग पुल, सुपरमार्केट, जिम, होटल, सार्वजनिक पार्क, समुन्द्री किनार, मनोरञ्जन केन्द्रहरु, सिनेमा हल, संग्राहलय तथा रेष्टुरेन्ट र क्याफेमा प्रवेशका लागि अल होस्न मोबाइल एप्लिकेसनमा हरियो पास अनिवार्य हुनुपर्नेछ।

युएईले कोभिड १९ को कन्ट्याक्ट् ट्रेसिङ्ग तथा व्यक्तिको कोरोना परिक्षण र भ्याक्सिनेसनको विवरण उपलब्ध गराउन सार्वजनिक गरेको 'अल होस्न' मोबाईल एप्लिकेसनमा कोभिड विरुद्धको खोप प्राप्त गरेको र पिसिआर परिक्षणको नतिजाको आधारमा हरियो संकेत सक्रिय हुने बताईएको छ।

हरियो पास सक्रिय हुने अवधीका लागि ६ वटा वर्ग निर्धारण गरिएको छ। जसअनुसार कोभिड विरुद्धको दोस्रो डोज प्राप्त गरेर २८ दिन गुजारेका र पिसिआर परिक्षणको नतिजामा नेगेटिभ रिपोर्ट भएका व्यक्तिहरुको मोबाइल एप्लिकेसनमा ३० दिनसम्म हरियो संकेत सक्रिय रहनेछ। त्यस्तै खोपको दोस्रो डोज प्राप्त गरेका तर २८ दिन पूरा नभएका र कोरोना नेगेटिभ नतिजा भएकाहरुको मोबाईल एपमा १४ दिनसम्म हरियो संकेत सक्रिय रहनेछ।

यसैगरी खोपको पहिलो डोज लगाएर दोस्रोको प्रतिक्षामा रहेका र कोरोना नेगेटिभ नतिजा भएकाहरुको अल होस्न एपमा ७ दिनसम्म हरियो संकेत सक्रिय हुने बताईएको छ। पहिलो खोप प्राप्त गरेर पनि ४२ दिन वा सोभन्दा बढी समयसम्म दोस्रो डोज नलगाएका र कोरोनाको नतिजा नेगेटिभ भएकाहरुको एपमा ३ दिनसम्म मात्रै हरियो संकेत सक्रिय रहने बताईएको छ।

यस्तै खोप छुट प्रमाणपत्र भएका र पिसिआर नतिजा नेगेटिभ भएकाहरुको एपमा ७ दिनसम्म हरियो संकेत रहने छ। कोभिड विरुद्धको खोप नलिएका तर पिसिआरको नतिजा नेगेटिभ भएकाहरुको मोबाईल एप्लिकेसनमा ३ दिनको लागि मात्रै हरियो संकेत सक्रिय रहने छ।

प्रकाशित मिति: : 2021-06-16 08:00:00

प्रतिकृया दिनुहोस्