नेपाल एसोसिएसन युएईको कार्यालयमा दूतावासको अवलोकन भ्रमण

अबुधाबीस्थित नेपाली दूतावासको प्रतिनिधि टोलिले दुबईमा रहेको नेपाल एसोसिएसनको कार्यालयमा अवलोकन भ्रमण गरि सेवाग्राहीहरुसंग छलफल गरेको छ।

भ्रमणका क्रममा दूतावासको प्रतिनिधि मण्डलले नेपाल एसोसिएसनले विगत ३ महिनादेखि संचालन गर्दै आएको राहदानी नविकरणका लागि एमआरपी फारम भर्ने प्रक्रियाको निरीक्षण समेत गरेको छ। 

कार्यालय भ्रमण पश्चात् दूतावासको टोलिले सेवाग्राहीसँग छलफल गरेको थियो। छलफलमा युएईका विभिन्न राज्यबाट आएका नेपालीहरुले दूतावासका प्रतिनिधिहरु समक्ष आफ्ना समस्या तथा गुनासाहरु सुनाएका थिए।

सेवाग्राहीबाट आएका समस्या तथा गुनासाहरुलाई नेपाली दुतावासकी श्रम काउन्सिलर निर्मला थापा र द्वितीय सचीव भुवन ओझाले सम्बोधन गरेका थिए। थापाले श्रम सम्बन्धि सेवाग्राहीका समस्या तथा गुनासाहरुको जवाफ दिएकी थिइन् भने द्वितीय सचीव ओझाले राहदानी सम्बन्धि जिज्ञासा तथा सवालहरुको जवाफ दिएका थिए।

दूतावासको टोलिलाई नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठ तथा महासचिव नरेश सेनले कार्यालयको भ्रमण गराएका थिए। भ्रमणका क्रममा महासचिव सेनले अहिलेसम्म एसोसिएसनले संचालन गरेका गतिविधिहरुको जानकारी गराएका थिए, भने अध्यक्ष श्रेष्ठले दूतावासबाट प्राप्त सहयोगको प्रसंसा गर्दै धन्यवाद दिए।

दूतावासको भ्रमण टोलिमा नेपाली दुतावासकी श्रम सहचारी प्रमिला केसि तथा जनसंपर्क अधिकारी राजी समेत सहभागी थिए। भ्रमण पश्चात् प्रतिक्रिया दिंदै नेपाली दुतावासकी श्रम काउन्सिलर निर्मला थापाले नेपाल एसोसिएसनले संचालन गरेको कार्यक्रमहरुबाट नेपालीहरुले राहत पाएको बताईन्।  

लामो समयदेखि युएईमा कार्यरत नेपाली श्रमिकहरुको हितमा काम गर्दै आएको नेपाल एसोसिएसन युएईमा कानुनी मान्यताप्राप्त एक मात्रै नेपाली सामाजिक संस्था हो। यसले विगत लामो समयदेखि युएईमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग तथा उद्दार गर्दै आएको छ।

प्रकाशित मिति: : 2021-06-11 23:22:00

प्रतिकृया दिनुहोस्