प्रधानमन्त्री ओलीले एमाले एकताबद्ध बनाउन पहल गरेपछि प्रचण्ड पुगे नेपाल भेट्न

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले 'समानान्तर गतिविधि' गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका माग सम्बोधन गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालसँग छलफल गर्न  कोटेश्वर पुगेका छन् । कोटेश्वरस्थित एक व्यवसायीको घरमा प्रचण्ड र माधव नेपालबीच छलफल भएको स्रोतले बताएको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ अघिको पूर्वास्थाबाट अगाडि बढाउन तयार रहेको घोषणा गरेपछि प्रचण्ड र नेपालबीच छलफल भएको हो। स्रोतका अनुसार उनीहरुबीच केपी ओलीले सार्वजनिक गरेको वक्तव्य र अबको रणनीतिका बारेमा छलफल भएकाे छ।

ओलीको घोषणापछि माधव नेपाल समूहभित्रका केही नेताले स्वागत गरेका छन्। नेता योगेश भट्टराई, ठाकुर गैरेले त्यसको स्वागत गरेका छन् । तर, नेपालको 'कोर ग्रूप'का वेदुराम भुसाल, जगन्नाथ खतिवडालगायतले भने विरोध गरेका छन्।

एमालेबाट फुटेर माओवादीमा गाभिने आशमा रहेका प्रचण्डलाई भने ओलीको लचकताले घायल बनाएको एमाले वृत्तमा चर्चा छ । प्रचण्डसँगको बैठकपछि वरिष्ठ नेता नेपालले फेरि शर्तहरु थप्नसक्ने पनि आशंका गरिएको छ ।

प्रकाशित मिति: : 2021-06-07 13:37:00

प्रतिकृया दिनुहोस्