ओलीको चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्न खनाल-नेपाल समूहको अपिल (पूर्णपाठ)

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमाले झलनाथ खनाल र माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले चालबाजीपूर्ण वार्ता गरेकाले भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेको छ।

बिहीबार र शुक्रबारको केन्द्रीय कमिटी बैठकले पारित प्रस्तावहरु आइतबार सार्वजनिक गर्दै पार्टीलाई एकताबद्ध राख्ने हाम्रो चाहनामा कुठाराघात भएको बताएका छन्।

'पार्टी एकताका लागि अन्तिम समयसम्म हामीले गरेको प्रयासलाई अनेक बहानामा सार्थक हुननदिइ पार्टीलाई एकताबद्ध राख्ने हाम्रो चाहनामा कुठाराघात गरिएको छ। हाम्रो तर्फका कार्यदलका संयोजकलाई पार्टी सदस्यबाटै कथित निष्काशन गरी केपी ओलीले कार्यदलको औचित्य समेत समाप्त गरी वार्तालाई दाउपेचको रुपमा दुरुपयोग गर्ने र वार्ताकोऔचित्य समाप्त गर्ने काम गर्नुभएको छ। यस्तो स्थितिमा जबसम्म पार्टी एकताको लागि हामीले लिखितरुपमा दिएको पत्रमा उल्लेखित कुराहरु विश्वसनीयरुपमा पूरा हुँदैनन्तबसम्म वार्ता फगत समय कटाउने चाल मात्र ठहरिनेछ। चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्न सम्बद्ध सबैसंग आग्रह गर्दछौं,' प्रस्तावमा उल्लेख छ।

खनाल-नेपाल समूहले आफूहरु पार्टीको एकता तथा सार्थक र परिणाममुखी वार्ताको पक्षमा रहेको तर केपी ओलीबाट पार्टीमा एकता कायम गर्ने दिशामा उन्मुख हुनुको साटो अन्तरविरोध र विभाजन बढाउने कामकुरा गरिएका  बताएका छन्।

'केन्द्रदेखि स्थानीय तहसम्म कथित स्पष्टीकरण, निलम्बन र निष्काशन लगायतका सबै कार्वाईहरु तत्काल खारेज गरिनुपर्छ। अन्यथा असंवैधानिक किसिमले प्रतिनिधि सभा विघटन गरी आमनिर्वाचनको घोषणा गर्ने कार्यका विरुद्ध देशका प्रमुख राजनीतिक दलहरु कानुनी र राजनीतिक रुपमा संघर्षरत रहेकोस्थितिमा अनिश्चित र परिणामविहीन वार्ता र एकताको नाममा षडयन्त्रपूर्ण जालझेलमा अलमलिनु नहुने स्पष्ट छ,' प्रस्तावमा भनिएको छ।

प्रकाशित मिति: : 2021-06-06 16:04:00

प्रतिकृया दिनुहोस्