राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेका दुई जना र जसपाका एक जना गरी तीन जना उपप्रधानमन्त्रीसहित ११ जना मन्त्री तथा दुई जना राज्यमन्त्रीको सपथग्रहण गराएकी छन्।
राष्ट्रपति कार्यालय, शितल निवासमा शुक्रबार साँझ ८ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा पद तथा गाेपनीयताको सपथग्रहण गराएकी हुन्।
उपप्रधानमन्त्री पदको सपथग्रहण गर्नेहरुमा एमालेका तर्फबाट विष्णु पौडेल र रघुवीर महासेठ छन् भने जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पनि उपप्रधानमन्त्री भएका छन् ।
जसपाका तर्फबाट उपप्रधानमन्त्री महतोसहित आठ जना मन्त्री र दुई जना राज्यमन्त्रीले सपथग्रहण गरेका छन् भने एमालेका शेरबहादुर तामाङले पनि सपथग्रहणसँगै स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाए । (तल हेर्नुस् सपथ खाने मन्त्रीको सूची)
जसपाका मन्त्रीहरुले शुक्रवारै जिम्मेवारी पनि पाएका छन् । एमालेका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलबाहेक पुराना जना मन्त्रीलाई निरन्तरता दिइएकाे छ। ओली नेतृत्वको सरकारमा एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक योजनामन्त्री वसन्त नेम्बाङले मात्रै निरन्तरता पाएका छन्। अर्थमन्त्री पौडेलको भने पदोन्नति भएर उनी अब उपप्रधानमन्त्रीसहित अर्थमन्त्री भएका छन्।
उपप्रधानमन्त्रीसमेत रहेका एमालेका महासचिव ईश्वर पोखरेलसहित १० जना मन्त्री हटाइएका छन्। प्रधानमन्त्री ओली नेतृत्वको सरकारबाट शुक्रबार बिदा पाउनेहरुमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपंक्षीमन्त्री पद्माकुमारी अर्याल प्रेम आले, भूमि व्यवस्था तथा सहकारी मन्त्री डा शिवमाया तुम्बाहम्फे, पर्यटनमन्त्री भानुभक्त ढकाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ महिला बालबालिकामन्त्री जुलीकुमारी महतो छन्।
एमालेका तर्फबाट मन्त्री हुने सात जनाको नाम अझै टुंगाे लागेकाे छैन। महासचिव पोखरेल र नेता प्रदीप ज्ञवालीले पार्टीकाे जिम्मेवारी सम्हाल्ने गरी मन्त्रीबाट मुक्त गरिएकाे प्रधानमन्त्रीनिकट एक शीर्षनेताले बताए।
रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री स्वयंले राखेका छन्। एक–दुई दिनभित्रै ती मन्त्रालयमा पनि मन्त्री बनाउने प्रधानमन्त्रीको तयारी छ। माधव नेपाल समूहमा लागेका दोस्रो पुस्ताका नेताहरु र साविक माओवादी छाडेर एमालेमा आएका नेतासमेत समेटेर ती मन्त्री बनाउने प्रधानमन्त्रीको तयारी रहेकाे एमाले स्रोतले जनाएको छ।
सपथ लिने नयाँ मन्त्रीहरूः
विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री
शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव : श्रम तथा रोजगार
उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण
लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था
चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक