जनता समाजवादी पार्टी (जसपा) आज सरकारमा सहभागी हुने भएको छ। जसपाको भागमा आठ वटा मन्त्रालयसहित १० वटा मन्त्री पर्ने भएका हुन्।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार, जसपाका आठ जना मन्त्री र दुई जना राज्यमन्त्री हुने भएका छन्। संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो । सरकारमा सहभागी हुने बिषयमा विहीवार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच लामो छलफल भएको थियो ।
जसपाका तर्फबाट अन्तिम नामावलि टुंगो लाग्न बाँकी भए पनि वरिष्ठ नेता राजेन्द्र महतो, शरत्सिं भण्डारी, अनिलकुमार झा, उमाशङ्कर अड्गरिया, विमल श्रीवास्तवलगायत आठ जना मन्त्री हुने छन्। जसपाले दुई जना राज्यमन्त्री पनि पाउने छ।
एमालेका मन्त्रीहरुमा पनि व्यापक हेरफेर गर्ने गृहकार्यमा प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहेको स्रोतको दाबी छ। गृहमन्त्री भने एमालेसँगै रहने छ तर मन्त्री को हुने भन्ने टुंगो लागिनसकेको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसलाका कारण मन्त्री पद गुमाउन पुगेको साविक माओवादीबाट एमाले भएको समूहको समेत चित्त बुझाउने गरी गृहकार्य गरिरहेको बालुवाटार स्रोतले जनाएको छ।
राप्रपा भने आज सरकारमा सहभागी नहुने पनि स्रोतले जानकारी दियो।