गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
आफूलाई असंवैधानिक तरिकाले कारवाही गरेको भन्दै थापाले सर्वोच्चमा रिट दायर गराएका हुन्। उनको रिट शुक्रबार दर्ता भएको छ।
प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनको पद नरहेको सूचना गराएका थिए।
राष्ट्रिय जनमोर्चा संसदीय दल गण्डकी प्रदेशको बिहीबारको पत्र अनुसार पार्टीका तर्फबाट बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं १ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य थापालाई नेपालको संविधान, २०७२, राजनीतिक दल सम्बन्धी ऐन २०७३ तथा गण्डकी प्रदेश प्रदेशसभा नियमावली,२०७४ बमोजिम प्रदेशसभा सदस्य पदबाट हटाइएको जानकारी गराइएको थियो।
गण्डकीमा सरकार गठनमा निर्णायक जनमोर्चाले नेपाली काँग्रेससहितका विपक्षी गठबन्धनको सरकार गठनमा पहल गर्ने निर्णय गरेका थापाले दलको निर्णय अनुसार हस्ताक्षर गर्न नमानेपछि पार्टी निर्णयविपरित कार्य गरेको भन्दै उनलाई दलका तर्फबाट कारबाही गरिएको थियो।