म खाेपविराेधी हाेइन, तर खाेप मात्रै महामारीको समाधान नहुन सक्छ

शिलापत्र

काठमाडौँ

 अभय पाण्डे

 

मान्छे बाँदरबाट विकसित भएको भए पृथ्वीमा बाँदर अझै किन छ त ? कतिपय मानिस यो प्रश्न तेर्स्याएर आफूलाई डार्विनभन्दा बढी बुद्धिमान ठान्छन् । तर, यो प्रश्न कुनै जीवविज्ञानको विद्यार्थीले सुन्यो भने मजाले हाँस्छ । यो प्रसंगमा पछि फर्कौंला ।

खोप नै यो महामारीको समाधान हो ! यस्तो अचेल धेरैको मुखबाट सुनिन्छ । आममानिसको मुखबाट सुन्दा त स्वाभाविक नै लाग्छ, तर जब विज्ञ वा प्राज्ञिक नै भन्न थाल्छन्, त्यसले भने सोच्न बाध्य बनाउँछ । के यो महामारीको अन्त्य आमटिकाकरण (मास भ्याक्सिनेसन) बाटै हुन्छ त ?

व्यक्तिगत स्तर (इन्डिभिजुअल लेभल) र जनसंख्याको स्तर (पपुलेसन लेभल)

जनस्वास्थ्य विज्ञानमा दुईवटा शब्दावलीको प्रयोग हुन्छ । त्यो हो– व्यक्तिगत स्तर (इन्डिभिजुअल लेभल) र जनसंख्याको स्तर (पपुलेसन लेभल) । जुन मानवीय हस्तक्षेप व्यक्तिगत स्तरमा प्रभावकारी हुन्छ, त्यो जनसंख्याको स्तरमा पनि त्यस्तै प्रभावकारी हुन्छ भन्ने छैन । एउटा उदाहरण दिन चाहन्छु । उदाहरण एकदम प्रासङ्गिक त होइन, तर अवधारणा बुझ्न सहयोगी हुन सक्छ ।

महामारीबाट बाँच्न तपाईं एक वर्ष एकान्तबास बस्नुभयो भने त्यो व्यक्तिगत स्तरमा प्रभावकारी नै हुन्छ । तर, पूरै जनसंख्या बसे (डाक्टरलगायत) त्यो प्रत्युत्पादक हुन सक्छ । अहिले जति पनि प्रकारका खोप (प्रोटिन बेस्ड, एमएनआरए वा डीएनए बेस्ड) र कम्पनीमा खोप बनेका छन, त्यसको सुरक्षा र प्रभावकारितामा शंका गर्न मिल्दैन । यसले मानिसलाई अवश्य सुरक्षा प्रदान गर्दछ, यस्तो अहिलेसम्मको परिणामले पनि देखाउँछ । कुन हदसम्मको सुरक्षा प्रदान गर्दछ भन्ने कुराचाहिँ उमेर समूह, शारीरिक र मानसिक स्वास्थ्य, भाइरसमा हुने परिवर्तन आदिमा निर्भर गर्दछ । तर, के जनसंख्याको स्तरमा पनि आमटिकाकरणले त्यही किसिमको सुरक्षा र प्रभावकारिता प्रदान गर्छ त ?

प्रकाशित मिति: : 2021-06-03 09:16:00

प्रतिकृया दिनुहोस्