‘सरकारको सम्पूर्ण ध्यान सत्तामा मात्र भएकोले जनताका आवश्यकता र पिर-मर्काहरु गौण भए’ (विज्ञप्तिसहित)

File photo
File photo

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अर्कमण्यता र उदासिनताका कारण बढेको कोरोना संक्रमण रोक्न फेरि पनि हचुवाको भरमा सरकारले निषेधाज्ञाको साहारा लिएको बताएका छन्।

सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्,  'निषेधाज्ञाको असर पनि हँचुवा गृहकार्य र कमजोर व्यवस्थापनका कारण प्रभावकारी हुन सकेको छैन।'

'संक्रमण फैलन नदिने उद्देश्य प्राप्त गर्न निषेधाज्ञाको वैज्ञानिक व्यवस्थापन गर्दै नागरिकका दैनिक आवश्यकताको सहज र सरल आपूर्ति सुनिश्चितता गर्न सरकार कार्यरत हुनु पर्ने हो', उनले भनेका छन् , 'तर सरकार हचुवाको भरमा अगाडी बढेको छ।'

नेपाली कांग्रेस आफै पनि कोभिड–१९ को रोकथाम र उपचारमा जनताका पीडाहरुलाई कम गर्न सक्रियताका साथ लागि परेको बताउदैं सभापति देउवाले भने, ‘देशको साधन, स्रोत र संयन्त्रको जिम्मेवारीमा रहेको सरकारले गर्ने सम्पूर्ण काम नेपाली कांग्रेसले गर्न सक्ने कुरा भएन।’

सरकारको नेतृत्वको सम्पूर्ण ध्यान भने जसरी पनि सरकारमा टिकिरहनु पर्छ भन्ने मात्र भएकोले जनताका आवश्यकता र पिरम-र्काहरु गौण हुन पुगेको उनले बताएका छन्।

कोरोना नियन्त्रणका लागि कांग्रेसले दिएका १५ बुँदे सुझाव कार्यान्वयनमा सरकार उदासीन देखिएको बताएका छन्। कोरोना नियन्त्रणका लागि प्राप्त अन्तर्राष्ट्रिय सहयोगको पार्टीकरण नगर्न र खोपलगायतका स्वास्थ्य सामग्री खरीदमा भएको अनियमितताको छानबिन गर्न समेत देउवाले माग गरेका छन्। 

प्रकाशित मिति: : 2021-05-27 18:44:00

प्रतिकृया दिनुहोस्