कोरोना महामारी प्रभावित विपन्न परिवारलाई इटहरी उपमहानगरपालिकाले वितरण गरेको राहत सामग्रीको बोराभित्र नेकपा एमालेको पत्र फेला परेको छ।
इटहरी–३ सुनौलो बस्तीमा वितरण गरेको राहत सामग्रीको बोरामा भेटिएको पत्रमा एमाले नगर अध्यक्ष यामकुमार सुब्बाको हस्ताक्षर रहेको छ।
पत्रमा लेखिएको छ, 'विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरको संक्रमणबाट त्यस टोलका टोलबासीहरु पनि संक्रमित भएको सुन्दा हाम्रो पार्टी नेकपा एमाले इटहरी उपमहानगर कमिटी अत्यन्तै दु:खित् भएको छ। यस महामारीको सामना गर्न तपाईंहरुको साथमा सिङ्गो नेकपा (एमाले) पार्टी रहेको छ भन्दै संक्रमित टोलबासीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।'
उक्त राहत इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको उपस्थितिमा वितरण भएको थियो।
वितरण गर्ने क्रममा एमालेको पत्र भेटिएपछि विवाद सिर्जना भएको थियो। विवाद भएपछि पत्र निकालेर राहत वितरण गरिएको थियो।
पत्रमा हस्ताक्षर गर्ने एमाले इटहरी उपमहानगर कमिटी अध्यक्ष सुब्बाले आफूले जनताको स्वास्थ्य लाभको कामना गर्दा अनावश्यक विरोध गरेर प्रचारवाजी दाबी गरे। ‘पत्रमा स्वास्थ्य लाभको कामना मात्र गरिएको छ,’ उनले भने, ‘यति ठूलो मुद्दा बनाउनुपर्ने विषय होइन्।’
उपमेयर लक्ष्मी गौतमले प्रमुख जिल्ला अधिकारीको अनुमतिमा वितरण भएको राहतमा एमालेको पत्र भएको विषय आफूलाई जानकारी नभएको बताइन्।
सुनौलो बस्तीका एक सय १२ परिवारलाई १० केजी चामल, तीन केजी दाल, तीन केजी आलु र तेल राहतस्वरुप वितरण गरिएको थियो।