कोरोना संकटको मौका छोपी पूर्वमन्त्री वर्षमानले थाले 'अक्सिजन सिलिण्डरको व्यापार'

पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो गृहजिल्ला रोल्पाका आठवटा स्थानीय तहलाई नाफासमेत जोडेर महङ्गो मूल्यमा अक्सिजन सिलिण्डर बिक्री गरेको खुलासा भएको छ। 

पुनले आफ्नो पहलकदमीमा अक्सिजन सिलिण्डर पठाएको भनिएका सिलिण्डर उनको स्वकीय सचिव सन्तोष पुनले २९ हजार तीन सय ८० रुपैयाँमा बिक्री गरेका हुन्।

पूर्वमन्त्री पुनले नाफासहित बेचेका अक्सिजन सिलिण्डरलाई सत्कर्म भन्दै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बधाई तथा धन्यवादको भन्दै उनका समर्थकले प्रचार प्रसार गराएका थिए तर त्यो प्रचार एक दिन पनि टिक्न सकेन। उनको सचिवालयले रोल्पाका स्थानीय तहमा अक्सिजन सिलिण्डरको व्यापार गरिरहेको खुल्न आएको छ।

विपतको समयमा नेता पुनले अक्सिजन सिलिण्डर गाउँ–गाउँमा पठाउदै चुनावी प्रचार गरिरहेको देखेपछि स्थानीय कांग्रेस–एमालेका नेताहरुले यसको तथ्य खोजिगरेका थिए। त्यसपछि उनीहरूले नीला रंगका सिलिन्डरहरू स्थानीय तहलाई चर्को मूल्यमा किन्न लगाएको पत्ता लगाएका थिए।

माओवादी कार्यकर्ताहरूले पूर्वमन्त्री पुनको व्यक्तिगत लगानीमा रोल्पाका स्थानीय तहसम्म अक्सिजन सिलिण्डर पुर्‍याए जसरी प्रचारबाजी गरेका थिए। चाइनाबाट व्यापारीले बिक्रीका लागि ल्याएका अक्सिजन सिलिण्डर पुनका स्वकीय सचिव सन्तोष पुनले सदरमुकाम लिवाङसम्म पुर्‍याएर भ्याटसहित २९ हजार ३ सय ८० रुपैँया बिक्री माओवादी केन्द्रका रोल्पाका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा बताए।

माओवादी कार्यकर्ता तथा निकट पत्रकारहरूले सामाजिक सञ्जाल र स्थानीय मिडियामा अक्सिजन सिलिण्डरसँगै नेता वर्षमान पुन र लुम्बिनी प्रदेश सांसद दीपेन्द्र पुनको फोटो राखेर चुवानी प्रचार नै थालेका थिए।

पूर्वमन्त्री पुनका स्वकीय सचिव सन्तोषले केही दाअघि जिल्लाका सबै स्थानीय तहका प्रमुखलाई अक्सिजन सिलिण्डर भए–नभएको बारेमा सोधेका थिए तर  उनले वर्षमान पुनको पहलमा सिलिण्डर आए पनि गाउँपालिका आफैँले पैसा भुक्तानी गर्नुपर्ने बताएपछि रुन्टीगढी र त्रिवेणी गाउँपालिका भने किन्न अस्वीकार गरी पछि हटेका थिए। वर्षमानको पहलमा अनुदानमार्फत् सिलिण्डर आउने आश गरे पनि व्यापारिक ढंगले संवाद गरेको त्रिवेणी गाउँपालिका शान्तकुमार वलीले बताए।

पूर्वमन्त्री पुनको पहलमा आएका अक्सिजन सिलिण्डर आफूहरूले भुक्तानी गरेको सुनछहरी गाउँपालिका अध्यक्ष रहेका पुननिकट माओवादी कार्यकर्ता आशबहादुर पुनले स्वीकार गरे । आफ्नो गाउँपालिकाले पनि भ्याटसहित नै २९ हजार ३ सय ८० रुपैँयाको रसिद प्राप्त गरेको उनले बताए। 

एमाले रोल्पाकी नेतृ ईश्वरी जिएमले भनिन्, 'माओवादी कार्यकर्ताहरूले रोल्पाका जनतालाई नि:शुल्क सिलिण्डर उपलब्ध गराएको जस्तै गरी प्रचार गरे। उनीहरू चुनावी प्रचारमा लागेका छन्। यो भ्रम हो।' 

पूर्वमन्त्री पुनको सचिवालयले कोरोना महामारीको समयमा सेवाभन्दा पनि व्यापार गरिरहेको उनको आरोप छ। उनले सामाजिक सञ्जालमार्फत् संघीय सरकार, वर्षमान पुन र दीपेन्द्र पुनको पहल रोल्पा ल्याइएका अक्सिजन सिलिण्डर ठूलो नाफासहित व्यापार भइरहेको पनि बताइन्। 

रोल्पाका १० गाउँपालिकामध्ये एमालेले जितेको दुई पालिकाले भने ती महंगा सिलिण्डर किन्न अस्वीकार गरेका छन्। बाकी आठ गाउँपालिकामा यसको व्यापार भएको छ । लुग्री गाउँपालिकाले पनि १० वटा त्यस्ता अक्सिजन सिलिण्डर किनेको खुल्न आएको छ। 

लुंग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले पूर्वमन्त्री पुनको समन्वयमा आफ्नो गाउँपालिकामा १० पीस सिलिण्डर आएको जानकारी दिए। उनका अनुसार भ्याटसहित २९ हजार ३ सय ८० मा गाउँपालिकाले खरिद गरेको बताए। आफूहरुलाई कहाँबाट कसले ल्याएको भन्ने कुनै जानकारी नभएको र वर्षमानको स्वकीय सचिवको सम्पर्कमा सदरमुकाम लिवाङदेखि गाउँपालिकासम्म आफ्नै गाडी  सिलिण्डर ल्याएको उनले बताए।

अघिल्लो दिन सामाजिक सञ्जालमा आलोचित वनमन्त्री प्रेमबहादुर आलेले नीलो रंगको ४० किलोको सोही कम्पनीको उस्तै सिलिण्डर गृहजिल्ला डोटीमा २३ हजार रुपैयाँमा किनेर वितरण गरेको सार्वजनिक गरेका छन्।

प्रकाशित मिति: : 2021-05-26 16:18:00

प्रतिकृया दिनुहोस्