काठमाडौं। नेपाली कांगेसले सरकारले कोरोना महामारीको आडमा राजनीति गर्न खोजेको निष्कर्ष निकालेको छ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधवार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले कोरोना संक्रमणको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेको आरोप लगाएको छ।
कोभिड-१९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।
प्रधानमन्त्री ओलीले आफ्ना अवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पूरा गर्नका लागि कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको ठहर बैठकले गरेको छ।
‘सरकार कोभिड संक्रमलाई रोकथाम गर्न भन्दा पनि यसका आडमा राजनीति गर्न खोज्दै छ। जनतामा आतंक फैलाउन खोज्दै। २ दिनभित्र किनमेल गर भन्ने किसिमका कुराहरु गर्दैछ', महतले भने, 'सरकारको आशय अहिले पनि अक्सिजन, अस्पताल बेडको सुनिश्चितता संगै दुर्गम गाउँ गाउँमा पिसिआर परीक्षण गर्ने, संक्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पछि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धी गर्ने कोशिस सरकारबाट भइरहेको छ।'