जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवलाई तीन दिनभित्र जवाफ पेश गर्नेगरी सात बुँदे स्पष्टीकरण सोधेका छन्।
उपेन्द्र यादव पार्टीहित विपरीत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन क्रियाशील भएपछि उनीमाथि कारवाही गर्न उक्त स्पष्टीकरण सोधिएको हो।
'विगत केही दिनदेखि तपाईंका काम–कारवाही र क्रियाकलाप हाम्रो पार्टी जनता समाजवादी पार्टीको मूल्य मान्यता, नीति र विधानविपरीत भइरहेको हुँदा तपाईंलाई पार्टी विधानको दफा ४९ मा भएको अनुशासनको कारवाहीसम्बन्धी व्यवस्थाअनुसार तपाईंलाई यो स्पष्टीकरण सोधिने कार्य भएको छ', स्पष्टीकरणमा सोधिएको छ।
मंगलबार सोधिएको स्पष्टीकरणमा संसदीय दलको निर्णयअनुसार प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई किन समर्थन गरेको भन्दै प्रश्न सोधिएको छ।
त्यस्तै, सर्वाेच्च अदालतमा पार्टीको निर्णयविपरीत विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गरेको पनि जवाफ मागिएको छ।