प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाषाप्रति आपत्ति जनाएका छन्।
शनिबार काँग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको वक्तव्यको भाषामा राष्ट्रपतिलाई तपाईँ भनेर सम्बोधन नगरेको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति जनाएका हुन्।
शनिबार बालुवाटारमा बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवन पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले भने, ‘आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ। राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन। सभापतिको तहबाट राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषामा तिमी, उनी, यसो गरिन् भन्ने बोलिएको छ।’
काँग्रेसका सभापतिको त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियान कहाँसम्म पुगेको रहेछ भन्ने अचम्म लाग्यो’ ओलीले भने।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि उक्त कदमको विरोध गर्दै सभापति देउवाले शनिबार विज्ञप्ति जारी गरेका थिए।