सबै विकल्पमा छलफल गर्ने कांग्रेसको निर्णय

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली काँग्रेसले सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको ठहर गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु पनि संविधानको मर्म र भावना विपरीत भएको ठहर गरेको हो।

संविधान र लोकतन्त्र रक्षा गर्न तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न सबै विकल्पबारे छलफल गर्ने निर्णय भएको सहमहामन्त्री प्रकाशशशरण महतले बताए।

राष्ट्रपतिको पछिल्लो कदम संविधानको मूलमर्म विपरित भएको निष्कर्ष निकाल्दै बैठकले संविधानको रक्षाका लागि अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा महतले जानकारी दिए।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि आज जेठ ७ गते साँझ ५ः०० बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधिसभाका सदस्यलाई बिहीबार आह्वान गरेकी थिइन्। 

प्रकाशित मिति: : 2021-05-21 11:30:00

प्रतिकृया दिनुहोस्