माधव नेपालका स्वकीय सचिवले भने, '२ जेठ २०७५ मा नफर्किए नयाँ पार्टी गठन गर्नुपर्छ'

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माधवकुमार नेपाल पक्षनिकटको युवासंघका उपाध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव नितेश पौडेलले २ जेठ २०७५ मा फर्किने सहमति कार्यान्वयन नभए नयाँ पार्टी गठन गरेर अगाडि बढनुपर्ने बताएका छन्।

युवा संघको गण्डकी प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुसंग आज जुम छलफलमार्फत उनले यस्तो बताएका हुन्।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालका बीचमा २८ फागुनको निर्णय खारेज गर्ने र २ जेठ २०७५ मा फर्किने सहमती भएको बताउँदै उनले यो सहमती कार्यान्वयन नभए नयाँ पार्टी गठन गर्नुपर्ने बताए।

‘पार्टी नेतृत्वको शिर्ष नेताहरुका बीचमा पार्टी एकता जोगाउने बिषयमा भएको सहमती कार्यान्वयन हुनुपर्छ। तर कार्यदल गठन गरेर पार्टी एकता जोगाउँदै सहमती कार्यान्वयन गर्ने बिषयमा अलमल गर्न खोजिदैछ’, पौडेलले भने, ‘पार्टी अध्यक्ष ओलीले नै कार्यदल गठन गर्ने बिषयमा अलमल गरिराख्नुभएको छ। यदि कार्यदल नै गठन नगर्ने र सहमती कार्यान्वयन हुँदैन भने नयाँ दल गठन गरेर अगाडि बढनुपर्छ।’

२८ फागुनको निर्णय खारेज गरेर २ जेठ २०७५ मा एमाले पार्टीको संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने नेपाल समूहको अडान रहेको छ।

गत बिहिबार र शुक्रबार ओली र नेपालबीच भएको छलफलमा यस बिषयमा सहमती गर्दै कार्यदल गठन गरेर सबै समस्याको समाधान गरिने निष्कर्षमा पुगेका थिए।

शनिबार बिहानसम्ममा कार्यदल गठन गर्ने सहमती ओली र नेपालका बीचमा भएको थियो। तर ओलीले अहिलेसम्ममा कार्यदल गठन गर्ने बिषयमा चासो नदिएको उपाध्यक्ष पौडेलले बताए।

‘खासमा उनले (ओली) पार्टी भित्रको विवाद समाधान होस्, पार्टी एकता कायम रहोस् भन्ने रुची नै छैन्। आफ्नो स्वार्थ पुरा नभएपछि सहमती गर्ने, पुरा भएपछि मनपरी गर्ने उहाँको पुरानै कार्यशैली हो’ पौडेलले भने।

पार्टी नेता देखी जनवर्गीय संगठनका नेताहरुको उचित व्यवस्थापन हुनुपर्ने बताउँदै उनले योग्यता, क्षमता, योगदानका आधारमा जिम्मेवारी बाँडफाँड हुनुपर्ने बताए।

बिधि, पद्धति, विधान अनुसार पार्टी सञ्चालन हुनुपर्ने उपाध्यक्ष पौडेलले बताए। जहिले पनि छलछाम, मनोमानी तरिकाले पार्टी सञ्चालन गर्न अध्यक्षले खोजेकाले अहिलेको अवस्था सृजना भएको उनले बताए।

‘शीर्ष नेताहरुका बीचमा भएको सहमती कार्यान्वयन गर्दै पार्टी अध्यक्षले आफ्नो कार्यशैली सुधार गरे पार्टी एकता जोगाउन सकिन्छ’ उनले भने।

पार्टी अध्यक्षकै कारण झण्डै दुई तिहाई बहुमतको सरकार अहिले समान्य बहुमत गुमाउनुपर्ने अवस्था आएको बताए।

कम्युनिष्टहरुका बीचमा पार्टी एकता र तीनै तहको सरकारमा कम्युनिष्ट नेतृत्वको सरकार निर्माण गर्दै समृद्ध नेपाल निर्माण गर्नुपर्ने दायित्व अब युवाहरुको काँधमा आएको उनले बताए।

ओलीले नेपाललाई सिक्किमीकरण गर्न सक्ने सम्भावना धेरै नै रहेकाले उनलाई पार्टी नेतृत्वबाट बिस्थापित गर्ने अभियानमा युवाहरु एकजुट भएर लाग्नुको बिकल्प नभएको उनले बताए।

१९७५ मा सिक्किमका अन्तिम प्रधानमन्त्री ल्याण्डुप दोर्जेले सिक्किमलाई भारतमा बिलय गराउने अभियानको नेतृत्व गरेको र उनी सिक्किम राज्यको पहिलो मुख्यमन्त्री समेत भएजस्तै ओलीले समेत नेपाललाई भारतमा बिलय गराउने सम्भावना रहेकाले क्रान्तिकारी युवाहरु अहिले एकजुट भएर ओली शैलीको बिरुद्धमा लाग्नुको बिकल्प नभएको उनले बताए।

प्रकाशित मिति: : 2021-05-16 15:14:00

प्रतिकृया दिनुहोस्