गृहमन्त्रीलाई संसद अवहेलनामा कारवाही गर्न माग गर्दै धनराजले पठाए सभामुखलाई पत्र

File Photo
File Photo

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारवाहीको माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन्।

गुरुङले सोमबार सभामुख देवराज घिमिरेलाई निवेदन लेख्दै गृहमन्त्री लामिछानेमाथि संसदकाे अवहेलना मुद्दामा कारबाही गर्न माग गरेका हुन्।

अदालतबाट सफाइ पाइसकेकाे रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरेर प्रस्तुत गरी भ्रम श्रृजना गर्न खोजेको उनले आरोप लगाएका छन्।

उपसभापति गुरुङले गृहमन्त्रीले प्रतिनिधिसभाको रोष्टमबाट तथ्यहिन, आधारहिन कुरा गरी कांग्रेसका सांसदहरुमाथि मानमर्दन गर्न खोजेको समेत बताएका छन्।

‘आइतबारकाे बैठकमा माननीय गृहमन्त्रीले हुँदै नभएको कुरालाई बढाई चढाई गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथी धावा बोलेको, अदालतको निर्णयको वर्खिलाप गरि अदालतको समेत अवहेलना गरेको, अदालतवाट सफाई पाईसकेका रातो कुटनितिक पासपोर्टको विषयलाई तोडमोड गरि प्रस्तुत गरि आम नागरिक विच भ्रम श्रृजना गर्न खोजेको, आफुलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति दिएको व्यहोरा स्मरण गराउन चाहन्छु’, उनले भनेका छन्। 

गृहमन्त्रीले बोलेका कुराहरुको अडियो तथा भिडियो प्रतिनिधिसभा सचिवालयमा सुरक्षित रहेको भन्दै उनले गृहमन्त्रीले अनैतिकरुपमा तथ्यहिन कुरा गर्दा संसदको अवहेलना हुन पुगेको बताएका छन्।

साथै गृहमन्त्री लामिछानेले बोलेको कुराहरु पुष्टि गर्न चुनौती दिँदै पुष्टि नभएमा उनीमाथि कारवाही गर्न माग गरेका छन्।

उनले भनेका छन्, ‘प्रतिनिधिसभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकोले सोतर्फ समेत विचार गरि निजलाई संसदको अवहेलनामा कारवाही गर्न गम्भिर रुपले माग गर्दछु। साथै कुटनितिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्वन्धमा सम्मानीत सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी यसै निवेदनसाथ संलग्न गरेको छु।’

प्रकाशित मिति: : 2024-05-20 17:28:00

प्रतिकृया दिनुहोस्