‘आमा तिनीहरूले जेसुकै भनून्, …’ सिद्धिचरण श्रेष्ठका शब्द सापटी लिएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा भने ‘म बहुला होइन…।’
हो, रवि बहुला होइनन्। त्यही कविताको अर्को लाइनमा भनेजस्तै सायद रवि गर्न नहुने केही गरेर हिँडेकै छैनन्, बोल्न नहुने केही बोलेर हिँडेकै छैनन्।
उनकै भाषामा ‘दोषी सावित’ गर्न नेपाली काँग्रेसले ‘मिडिया ट्रायल’गरेजस्तो उनी दोषी पनि होइनन्। किनकि उनीसँग सरकारका कानूनी सल्लाहकार ‘महान्यायाधीवक्ता’ले दिएको ‘क्लिन चिट’ गोजीमै छ।
सायद यी सबै केही होइनन् रवि बरु उनले खाजील्याएका फाइलहरूमा उनी आफैँले देखेजस्तै ती सबमा दोषी त बरु प्रतिपक्षकै नेताहरूको नाम पो छ। अरुले भनेजस्तो कुनै ‘उजुरी, जाहेरी अनि ज्ञापनपत्रहरूमा रवि लामिछानेको नाम छैन। भएपनि यो रवि अनि त्यो रवि एउटै होइन।’ यो रविको आफ्नै भाषामा ‘त्यो सबै केही पनि होइन। मात्रै एउटा प्रतिपक्षको मिडिया ट्रयायलमात्रै हो।’
यसबाट उनी डराउने छैनन्। अरुजस्तो मिडिया ट्रयालमा पनि उत्रिने छैनन्। किनकि उनी ‘मिडिया मिलाउन’ आएका होइनन्। बरु मिडियाकर्म छोडेर अनि भुँइबाट पछारिँदै उठेर फेरि राजनीतिको पछिल्लो बेञ्चबाट अघिल्लो बेञ्चमा आएका एक माहिर राजनीतिक खेलाडी हुन्।
सरकारमा छिरेको करिब दुई महिनापछि संसदमा उभिएर बोल्न पाएका रवि लामिछानेले आइतबारको आफ्नो सम्बोधनमा यी र यस्ता धेरै ‘भावना’हरू पोखे। आक्रोश अनि आवेगका पोखे। आफूमाथि प्रहार भएका कैयौँ आरोपपूर्ण बाणहरूलाई यस्तै-यस्तै शब्दमार्फत् छेके। यी सब त उनको चरित्र नै हो। मिडिया र मिडियामा उनका नाम जोडिएर आएका समाचारहरूलाई नै गलत देख्ने अनि सम्पादक र साहूहरूलाई गाली त यसअघि नै उनले गरिसकेका थिए।
बहुला होइनन्। कायर पनि होइनन्। डराउने मान्छे पनि होइनन्। ठग पनि होइनन्। कसैलाई ठगी पनि गरेका छैनन्। बरु उनकै भाषामा भन्दा त उनकै ‘भाग्य’ले उनलाई ठगेको छ।
करिब ४० मिनेटजति मिडियालाई गाली गरेर, प्रतिपक्षमाथि निकै आक्रोशित भएर अनि भावना, आवेग र आवेशका शब्दजालहरूमा बेर्दै उनले भाग्य, विधिविधाता र नियतिका कुराहरू सुनाए। भाषण सके। प्रतिपक्षका सांसदहरू उठे। तर, सभामुखले सदन बन्द गरिदिए।
रविले आफूमाथि लागेका आरोपहरूमाथि सफाइभन्दा पनि प्रतिपक्षमाथि कैयौँ गम्भिर आरोप अनि मुद्दाहरू बोकाइ गएका छन्। सदनको रोष्ट्रममा उभिएर उनले प्रतिपक्षमाथि सिधासिधा धावा पनि बोले।
‘रास्वपा कायरहरुको पार्टी होइन। रवि लामिछाने कायर होइन। मिडिया ट्रायल हामीसँग चल्दैन। मलाई खेल्न र हार्न समस्या छैन। तर खेल फेयर हुनुपर्छ झुटा मुद्दासँग म डराउँदिनँ। म भुइँको मान्छे हो, भुइँसम्म निहुरिन सक्छु, तर झुक्न स्वीकार्य छैन’, रविले भने, ‘तपाईंको सभापति ठग होइन। मैले कुनै ठगी गरेको छैन।’
मिडियाप्रति अझ आक्रोश, आवेग र अझ धेरै कुण्ठा पोख्दै उनले ‘मिडिया मिलाउन’ नसकेको मूल्य आफूले चुकाउनुपरेका शब्दहरू पनि ओकले। उनको भनाइ प्रस्ट थियो- सायद मिडिया मिलाउन सकेको भए त यस्तो हुँदैनथ्यो कि!
‘मेरो भाग्य पनि अचम्मको छ। टेलभिजनमा हुँदा सबैको तारो भएँ। राजनीतिमा हुँदा पनि सबैको तारो भइरहेको छु। सारा मिडियाको पनि तारो बनिरहेको छु। आफू लोकतान्त्रिक हुँदा हुँदै पनि लोकतान्त्रिक दलकै निशानामा छु। विभिन्न ‘वादी साथीहरूको’आफैँले माया गर्ने नयाँ-नयाँ साथीहरूको निशानामा पनि छु। मिडिया मिलाउनुस्। मिडिया मिलाउनु। म भन्छु म मिलाउँदिन मिडिया। म जनताका लागि अस्पताल, विद्यालय मिलाउन आएको हुँ। म नमिलेका कानुनका धाराहरूमा मिलाउन आएको हुँ। म अनुसन्धान गर्दागर्दै रोकिएका फाइलहरू अगाडि बढाउन आएको हुँ। बाँसबारी मिलाएँ, बालमन्दिर मिलाए। म मिडिया मिलाउँदिनँ सभामुख महोदय। टीकापुर मिलाएँ। हायात मिलाउँछु। तर मिडिया मिलाउन सक्दिनँ महोदय। मेरो टाउकोमाथि धेरै तरवारहरू छन्। मलाई धेरैतिर मिलाउनुछ। म केही मिलाउँदिनँ। म देश मिलाउँछु। यही देशमा बसेर जनताको अवस्था मिलाउँछु।’ यस्ता कैयौँ शब्दहरू उनले मिडिया, समाचार र समाचारहरूका ‘हेडलाइन’हरूमाथि प्रहार गरे जहाँ उनका नामहरू झुन्डिएका छन्।
सुरुमै उनले भनिसकेका थिए ‘मलाई लाथ्यो यो सदनमा बोल्न त बिधेयकहरू पढ्नुपर्छ। तर होइन रहेछ यहाँ बोल्नका लागि त पत्रिका, पत्रपत्रिका अनि मिडिया पढ्नपर्ने रहेछ। कानुनका लाइन लाइन पढ्नुपर्छ भन्ने सुनेको थिएँ। तर हेइन रहेछ, पत्रिका हेडलाइनहरू पढ्नुपर्ने रहेछ। जे होस् एउटा ठूलो शिक्षा लिएर आएको छु…।’
उनले भनेजस्तै पहिलोपटक ‘अनागरिक’ भएर संसद र सरकारबाट बाहिरिँदै गर्दा उनले आफ्नै पार्टी कार्यालयमा यो शिक्षा पाइसकेका थिए। त्यसपछि फेरि गृहमन्त्री भएपछि उनले उनै पत्रकारहरूसँग माफी पनि मागे जसलाई उनले तथानाम भनेका थिए।
यसपालि पनि करिब ४१ मिनेटको ‘सम्बोधन’मा उनले मिडियालाई धेरै गाली गरे। त्यही मिडियामा आएका उनका नामहरूलाई अस्वीकार गरे। आरोपहरूलाई खन्डन गरे। ती आरोप र तथ्य प्रमाणहरूलाई ‘प्रमाणित’ गर्न चुनौती दिए। अनि फेरि तिनै मिडियाहरूमा आएका समाचारहरू पढेर अरुमाथि पनि यस्तै छानिबन हुनुपर्छ भने।
प्रतिपक्ष र मिडियामाथि उनी यसरी खनिए कि लाग्थ्यो उनलाई यो पनि हेक्का थिएन उनी संसदमा बोलिरहेछन् वा कुनै भट्टी पसलमा।
राजनीतिमा हुने कैयौँ गोपनियताहरू उनले छताछुल्ल पारे। आफूलाई ‘अब्बल’ सावित गर्न उनले आफूलाई त्यही राजनीतिज्ञको स्तरमा झारे जहाँ उनको ‘रवाफ’ भने सायद ओर्लिएकै थिएन।
संसदको चौथो दलको हैसियतले सरकारमा प्रतिनिधित्व गरिरहेको अनि ‘उपप्रधान’मन्त्रीसमेत रहिरहेका उनले प्रतिपक्षका प्रस्तावहरूलाई यसरी खुलस्त पारिदिए मानौं ती कुनै चल्ती बजारका अफरहरू हुन्।
काँग्रेसले उनलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेको कुरा समाचारहरूमा नआएका होइनन् तर उनको ‘अस्वीकृत’ रवाफ यस्तो लाग्थ्यो मात्रै त्यो उनका लागि ‘काँग्रेसको निगाह’ थियो।
‘गृहमन्त्री हुँदा अस्वीकृत हुने मान्छेलाई प्रधानमन्त्रीका रुपमा भने स्वीकार्य हुने?’ मलाई त्यो अफर गर्नेहरू यही संसदमा हुनुहुन्छ। तपाईंहरूले दिएको प्रधानमन्त्रीको अफर अझै बाँकी छ कि डेटस्पायर भइसक्यो’ त्यसैमा उनले यत्तिचाहिँ भने ‘मलाई राजनीतिक गोपनियता कस्तो हुन्छ भन्ने कुरा थाहा छ।’
‘आम नागरिकका रुपमा सूचना मागेको थिएँ। सदनमा बोल्न दिइएको थिएन। न्यायको याचनाका निम्ति मैले आम नागरिकका रुपमा मैले सूचना मागेको थिएँ। मेरा अरु सबै विकल्पहरू बन्द थिए’, हरेक वाक्य र शब्दहरूमा उनले आफूमाथिका आरोपहरू खन्डनमात्रै गरेनन् बरु प्रतिपक्ष र विरोधीहरूलाई खुलमखुल्ला भिड्नका चुनौती पनि दिए।
‘कहीँ कतै मेरो नाम थिएन। समस्याग्रस्त लिस्ट पनि चेक गरेको छु। आरोप लागेका र चर्चामा आएकाहरूमा मेरा नाम छैनन्। बरु त्यस्ता समस्याग्रस्त सहरकारी पनि छन् जहाँ प्रतिपक्ष दलका कैयौँ नेताका नामहरू छन्’, उनले भने, ‘मिडिया ट्रायलकै भरमा समाचारमा नाम आएका भरमा समिति बनाउँदै जाने हो भने हामीले कस्तो संसदीय मर्यादा कायम गरिरहेका छौं भन्ने कुरा पनि ख्याल गरिनुपर्छ।’
नेपाली काँग्रेसले सहकारी र गृहमन्त्रीको नाम जोडिएको बारेमा छानबिन हुनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको थियो। लामो रस्साकस्सीपछि सबै दलहरू त्यस्तो समिति बनाउन त तयार भए तर उसका छानबिनका सिमारेखाहरू बनाउने बेला भने फेरि विवाद सुरु भएको छ।
नेपाली काँग्रेसले गृहमन्त्रीको नामै लिएर उनीमाथि नै केन्द्रित भएर छानिबन हुनुपर्ने अडान राखेपछि त्यो सीमारेखा कोर्न भेला भएका नेताहरूले केही निर्णय लिन सकेनन्। तर गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्ने सहमति भने नेपाली काँग्रेसले पालना गर्यो। बरु गृहमन्त्री बोलेपछि त्यसको जवाफ फर्काउन नदिई सभामुखले सदन स्थगित गरे।
यही सदनबाटै गृहमन्त्री लामिछानेले भने नेपाली काँग्रेसलाई चुनौती दिए- जस्तोसुकै परीक्षा दिन पनि म तयार छु। विषै पिउन पनि तयार छु। कस्तो छानबिन समिति बनाउने भनेर रास्वपालाई बाहिर राखेर बैठक गर्नुस्, तपाईंहरूले नै छानबिनका दायरहरू कोर्नुस्। हामी जे निर्णय पनि मान्न तयार छौं।’
जति गरे पनि जे गरे पनि के गर्नू।
ब्याड लक रवि दाइ तपाईंको भाग्य नै त्यस्तै छ…