सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समितिको कार्यादेश(टिओआर) बनाउने विषयमा दलहरूबीचमा सहमति हुन सकेको छैन। सरकारले शनिबार सहकारी ठगीमा छानबिन गर्न कार्यदल गठन गरेको थियो।
उक्त कार्यदलको बैठक आइतबार बिहान करिब ८ बजेदेखि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्यो। तर, निरन्तर ७ घण्टा (साँझ ४ बजे)सम्म कार्यदलको बैठक बसेपनि दलहरूबीचमा सहमति जुट्न सकेन।
छलफलमा कार्यदलका संयोजक कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सदस्यहरू एमालेका महेश बर्तौला, काँग्रेसका जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल छन्।
सँगै काँग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेता ज्ञानेन्द्र कार्की पनि छलफलमा सहकागी थिए।
दलहरूबीच भएको छलफलले निष्कर्ष निकाल्न नसकेपछि बैठक स्थगित भएको छ। साढे ४ बजे संसद बैठकमा सहभागी हुन बैठक स्थगित भएको हो। यद्यपि, दलका नेताहरूले संसद बैठकपछि कार्यादेशको सहमति टुंगो पुर्याउने बताएका छन्।
कहाँ अड्कियो कार्यादेशको छलफल?
सहकारी ठगी छानबिनका लागि संसदीय समितिको कार्यादेश बनाउने विषयमा सत्तापक्ष र विपक्ष दलहरूबीच आ-आफ्नै अडानमा बस्दा कार्यदलको बैठक निष्कर्षमा पुग्न नसकेको हो।
प्रतिपक्ष दल काँग्रेसले गृहमन्त्री रवि लामिछाने र उनी जोडिएको सहकारीको मात्र छानबिन गर्नुपर्ने माग गरेको छ। तर, सत्तापक्ष दल एमाले र रास्वपाले भने गृहमन्त्री लामिछाने जोडिएको सहकारीसँगै अन्य सहकारीको पनि छानबिन गर्नुपर्ने अडान लिएपछि सहमति हुन सकेन।
काँग्रेसले विषेश गरेर कार्यादेशमा रविको नाम उल्लेख गरेपछि सत्तारुढ दलका नेताहरू सहमत हुन सकेका छैनन्। ‘कुनै एउटा ब्यक्ति दोषी छ भन्ने उहाँहरू (काँग्रेस)को प्रस्तावमा छ। उहाँहरू एउटा ब्यक्तिले गर्दा सहकारीमा समस्या आएको भन्ने भाष्य निर्माण गर्दै हुनुहुन्छ’, रास्वपाका सांसद शिशिर खानालले भने, ‘यसमा हामी सहमत छैनौँ। सहकारी छानबिन गर्दा जो पनि जोडिएला। एउटा ब्यक्तिमाथि मात्र त नै दाषीहोस भन्ने गरी कार्यादेशमै तोक्न मिल्दैन।’
काँग्रेसका सांसद तथा कार्यदलका सदस्य जीवन परियारले कार्यदलको छलफल सहमतिनजिक पुगेको बताए। तर, आफूहरूको अडान रविमाथि नै छानबिन हुनुपर्ने रहेकाले सहमति नभएको उनले स्विकारे।
‘संसमा नेपाली काँग्रेसले जुन अडान लिएको थियो। त्यसमा अथावत छ। गृहमन्त्री माथि नै छानबिन गर्ने भन्नेमा हामी छौँ’, उनले भने।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदीय समिति कुनै एक ब्यक्तिमा मात्र केन्द्रित भएपछि गलत नजिर बन्ने भएकाले कार्यादेशमा सहमति हुन नसकेको बताए।
‘प्रमुख प्रतिपक्षका तर्फबाट रवि लामिछानेमाथि नै नाम नै किटेर छानबिन गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ भन्ने हिसाबले जब समितिले छानबिन प्रारम्भ गर्नुपूर्व नै किटानी गरेर ठगीमा जोडिएको हो, अपचलनमा जोडिएको भन्ने हिसाबले नाम आएको छ। यसमा सहमति हुने स्थिति बन्दैन’, उनले भने, ‘यसले गलत नजिरको विकास हुन्छ। एउटा संसदीय समितिले एउटा ब्यक्तिमाथि मात्र छानबिन गर्ने त्यो व्यवहारिक होइन। त्यो गलत नजिरतर्फ जानुहुँदैन भन्ने हाम्रो अडान छ।’
उनले पनि संसदको बैठकपछि कार्यदलको बैठक बस्ने र आइतबार नै कार्यादेश बन्ने बताए।