हरेक समाजमा खराबभन्दा धेरै गुणा बढी असल मानिस हुन्छन्। तर, उनीहरूले अरूलाई असर पर्ने काम नगर्ने भएकाले त्यसको प्रभाव देखिँदैन। प्रभाव देखिने भनेको समाजका केही खराब मानिसका कुकर्मले हो। जसको असरका कारण समाजमा खराब नै धेरै भइरहेको देखिन्छ र समाजमा खराब मानिस नै बढी हुन्छन् कि जस्तो लाग्छ। तर, त्यो यथार्थ हैन।
यथार्थचाहिँ के हो भने ती खराब मानिसले आफूलाई पनि खराब गरिरहेको हैन भनेर देखाउन अरूलाई पनि खराब देखाउने दुष्प्रयत्न गरिरहेका हुन्छन्। आमसञ्चारमा ट्रायल बलुन भनिने त्यस्तो दुष्प्रयासका कारण समाजमा एक किसिमको सामान्यीकरण हुन्छ। जसले गर्दा सबै उही त हुन् नि, कम्बल ओढेर घ्यू खान्छन् वा मौका नपरुन्जेल ज्ञानी हुन्छन् भन्ने खालको भाष्य निर्माण हुन्छ।
अहिले नेपाल त्यही भाष्यको सिकार भएको छ। र, यो भाष्यको प्रभाव यति धेरै छ कि जो कोहीलाई पनि साँच्चै नै त्यस्तै हो कि भन्ने लाग्छ। यो भाष्य निर्माण गर्न मूलतः सबै खाले मिडिया दोषी छन्, त्यसमा पनि सामाजिक सञ्जाल र वैकल्पिक मिडिया भनिने युट्युबहरू बाँदरको हातमा नरिवल नै भएका छन्।
मिडियाको न्यूनतम काम के हो भन्ने पनि थाहा नभई हरेक मानिस मिडियाकर्मी भइदिँदा सिर्जना भएको दुःखद परिस्थिति हो यो। अहिले सबैको हातमा स्मार्टफोन छ। माध्यमको अर्थमा यो पनि मिडिया नै हो। आमसञ्चारका महापण्डित म्याक्वेलले भनेजस्तै हरेक मिडियम मिडिया हुँदा आज समाज रमाउन पाइरहेको छैन, दुष्परिणाममा पीडावोध गरिरहेको छ।
पछिल्लो समय नेपालका हरेक संस्थाहरू केही साँच्चैको घटना र केही सामान्यीकरणका कारण प्रश्नचिन्हमुनि छन्। नेपाल सानो छ, यसको भोगचलन गर्ने सुकिलोमुकिलो वर्ग त झन् सानो छ। संख्यामा गन्दा नेपाल राज्यको धेरैजसो स्रोत, साधनको डाडुपन्यू लिनेको संख्या दुई हजारकै हाराहारीमा होला। दोहन यिनैले गरेका छन् र नेपालमा सबै उस्तै हुन् भन्ने भाष्यको ट्रायल बलुन बनाउन उनीहरू सफल पनि भएका छन्।
२०७९ सालमा नेपालमा सबै पुराना उस्तै हुन् भन्ने भाष्य बनाइयो। त्यही भाष्यले केही नयाँलाई वैतरणी ता¥यो। तर, ती नयाँहरू एक वर्ष नपुग्दै पुराना भए। केही मानिसका विगत, नियत र ल्याकतजन्य कमजोरी थिए तर त्यति मात्र पूरै कारण थिएनन्। हाम्रो अपेक्षा पनि व्यवहारिक थिएन र निर्णय पनि सही थिएन।
हामीले नयाँका नाममा प्रजापतिको चक्र घुमाउने सिपालु हात चाहिने ठाउँमा माइक फुटाउने गरेर बोल्नमा माहिरलाई पठायौ। जानेलाई पनि के भ्रम भयो भने बोल्नमा गिजिन बुक रेकर्डधारी म, जाबो प्रजापतिको चक्र चलाउन नजान्ने कुरा हुन्छ र? तर, यथार्थमा त्यस्तो हैन, प्रजापतिको चक्र र बुम फरक कुरा हुन्। ती चलाउन सम्बन्धित क्षेत्रकै सैद्धान्तिक र व्यवहारिक ज्ञान चाहिन्छ।
यो यथार्थ बुझ्न समय लाग्छ तर केहीलाई समयको हेक्का नै छैन। उनीहरूलाई ‘तातै खाऊँ, तातै जलिमरूँ’ भएको छ। तर, त्यस्तो कहाँ हुन्छ र केही चिज पनि पाक्न न्यूनतम समय त लाग्छ। त्यही समयको हेक्का नहुँदा नेपाली जनता पटकपटक कट्मिरो खाइरहेको छ। परिणामतः राज्यकै पेट र स्वास्थ्य बिग्रिरहेको छ।
अहिले पनि २०७९ को चुनावको कट्मिरोले पेट बिग्रिरहेको छ। चुनाव पनि के भन्नु र? लोकतन्त्रको सबैभन्दा सुन्दर अभ्यास चुनाव नै नेपालमा बदला लिने मौका लिएर आउँछ। हरेक चार वर्षमा जनता जनार्दन हैन, बदला लिने दुस्मन जस्ता हुन्छन्। चुनावलाई हरेकचोटी आफ्नो पेटी स्वार्थमा बदला लिने मौका बनाएपछि के हुन्थ्यो र? हुने भनेको भाँडभैलो र देशलाई अर्को प्रयोगशाला बनाउने नै हो।
२०७९ को चुनावमा नयाँ र स्वतन्त्रका नाममा अर्को प्रयोग भयो। पुरानासँग बदला लिन नयाँ पठाएको, नयाँ त झन् एक वर्षमै जडौरी भए। किनकि, अपवादलाई छोडेर नयाँसँग योग्यता, अनुभव, त्याग, समर्पण, इतिहास केही थिएन। बोल्नु र नयाँ हुनु नै सबैभन्दा ठूलो योग्यता थियो। नेपालजस्तो डेलिभरीको समस्या भएको देशका लागि यी कुनै योग्यता नै हैनन्, साँच्चै भन्नुपर्दा अयोग्यता हुन् यी।
नेपाली जनताले पुरानासँग बदला लिने नाममा नयाँ पठाएर गरेको प्रयोगको परिणाम अहिले देशले भोगिरहेको छ। चलचित्रको भाषामा यो त कास्टिङ मात्र होला जस्तो छ, यसैको लिनियर ढाँचामा चलचित्र बनेको छ र त्यो अरू तीन वर्ष नै हेर्नुपर्ने हो भने नेपाल नामको चलचित्र घर र नेपाली जनता नामका दर्शकको हरिबिजोग मात्र हुने हो। यति भन्नलाई कुनै आइतबार पर्खनै पर्दैन।
राजनीतिमा सधैँ एउटा प्रश्न हुन्छ, जनता अनुसार नेता हुन्छन् कि नेताअनुसारका जनता? यो अर्को यस्तै प्रश्न ‘अण्डा पहिले कि कुखुरा’ भने जस्तै हो। तर, पनि राजनीति शास्त्रको एक डक्ट्रिनले जनताअनुसारकै नेता हुन्छन् भन्छ।
यदि, यो डक्ट्रिनलाई मान्ने हो भने अहिले नेपाली जनताले आफू अनुसारकै नेता पाएका छन्। पुरानालाई त बिग्रन यतिका वर्ष लागेको थियो किनकि उनीहरूले आजको व्यवस्था ल्याउन केही योगदान गरेका थिए, उनीहरूसँग इतिहास र योगदान भएका राजनीतिक पार्टीहरूको सिद्धान्तको डोरो र केही राजनेताहरूको विरासत पनि थियो।
त्यो लाज राख्न पनि उनीहरू किस्ताबन्दीमा बिग्रिए। तर, अहिलेका नयाँसँग न कुनै लाज छ, न कुनै स्वाभिमान? उनीहरू पुरानाले लुटे भन्ने भाष्य बनाएर गएका थिए, लुट्नेलाई रोक्लान् कि भनेको लुट्नेकै मतियार भएर लुट्न थाले।
नयाँहरूका सबैभन्दा ठूला मोहोरा रवि लामिछानेको पछिल्लो स्थिति हेर्दा त यस्तो लाग्छ, उनी लुट्नकै लागि गएका रहेछन्। अहिले उनी एक किसिमले सिधै भनिरहेका छन् कि पुरानाले लुट्दा हुने नयाँले नहुने?
रवि लामिछानेको सहकारी प्रकरण त्यस्तै एउटा लुटाहा प्रकरण हो। जगजाहेर छ, रविले जीवी राईको नेटवर्किङ ग्याङलाई ग्यालेक्सीमा एक किसिमले फसाएका थिए। गैरकानूनी धन्दा गर्ने त्यो ग्याङलाई आफूलाई जोगाउने शक्ति चाहिएको थियो। रविले बोलेर त्यो शक्तिको छनक दिएका थिए।
त्यही चटकमा परेर जीवी ग्याङले ग्यालेक्सी नामको सेतो हात्ती पाल्ने महँगो सपना देख्यो। तर, रविका लागि त्यो राजनीतिमा चढ्ने भर्याङमात्र थियो। उनी त्यसका लागि प्रतिबद्ध र इमानदार थिएनन्।
अझ, ग्यालेक्सीमा चारैतिरका सहकारीको पैसा खन्याउँदा पनि त्यसले कुनै रङ ल्याउने नदेखेपछि उसले त्यहाँबाट निस्कन उत्तम ठानेँ। उनलाई लाग्यो, त्यतिबेलासम्मको सफलताले चुनावको वैतरणी तारिहाल्छ, त्यसपछि भविष्यमा असफलताको भारी पनि बोक्नु पर्दैन।
रविले ग्यालेक्सीको तर जति आफैँ बोके र जीवी ग्याङलाई पिलन्धरे मोही छोडेर हिँडे। आफू मात्र हिँडेनन्, भएभरका सहकर्मीलाई पनि लिएर त्यसैलाई रास्वपा पार्टी र केन्द्रीय समिति बनाइदिए। त्यसपछि हुने भनेको त अहिले भइरहेजस्तै ग्यालेक्सीको बरबादी थियो, जुन भयो।
मेरो विचारमा रवि नेपालको कमजोर राज्य संयन्त्रको सबैभन्दा धेरै फाइदा लिने एक वाचाल खेलाडी हुन्। अमेरिकी नागरिकका रूपमा अमेरिकी राहदानीमा नेपालको भिसा लगाएर त्रिभुवन विमानस्थल अध्यागमनबाट नेपाल पसेको एक अमेरिकीले रविले नेपाली अनुहार भएकै नाममा के गरे भन्दा पनि के गरेनन् भन्ने स्थिति छ।
अमेरिकी नागरिकता लिइसकेपछि स्वतः निष्क्रिय भएको कागजको खोस्टालाई नेपाली नागरिकता बनाएर नयाँ नेपाली पासपोर्ट लिए, त्यही नागरिकताले ग्यालेक्सीको १५ प्रतिशतको मालिक र प्रबन्ध निर्देशक भए, त्यही नागरिकताले पुरानो श्रीमतीसँग पारपाचुके गरे, नयाँसँग विवाह दर्ता गरे।
त्यति मात्र हैन, त्यही नागरिकताले दल दर्ता गरे, सभापति भए, छानिछानी सांसदको उम्मेदवारका लागि सहीछाप गरे, समानुपातिकको उम्मेदवारी दिलाए। चुनाव जितेर देशको गृहमन्त्रालय हेर्ने उपप्रधानमन्त्री नै भए।
पछि एकजना सर्वसाधरण नेपाली सर्वोच्च अदालत गएपछि सारा भण्डाफोर भयो। उनले एक गैरनेपालीको हैसियतमा यी सबै गरेको सर्वोच्च अदालतले नै प्रमाणित गरिदियो। नेपालको राज्य संयन्त्र यति बढी कमजोर खेलौना भएको रहेछ भन्ने योभन्दा ठूलो प्रमाण के हुन्छ?
यो विवरणको दृश्यको मात्र कल्पना गर्नुस् त यो कुनै नटवरलालको कथाभन्दा कम छ? छैन, यसका लागि रवि त रवि भैगए, उनको के कुरा गर्नु? उनको त नियत नै छर्लङ्ग भइसक्यो, प्रश्न राज्य संयन्त्रको हो। नेपाल भन्ने देशको राज्य संयन्त्र नै यति कमजोर रहेछ कि आज रविले गरे, भोलि अर्को कवि वा छविले गर्ने रहेछ। हुनसक्छ अहिले पनि कसैले गरिरहेकै होला।
यो स्तम्भकारको विचारमा रवि महत्वाकांक्षा र नियतिले खेदिरहेको एक कमजोर पात्र हुन्। जानेर वा नजानेर र कहिलेकाहीँ धेरै महत्वाकांक्षी र बाठो भएर उनी यस्तो डिलमा धकेलिएका छन् कि अब उनलाई फर्केर आउनै सहज छैन। नेपालबाट अमेरिका आउँदा होस् वा अमेरिकाबाट नेपाल जाँदा उनले अर्को उपाय नभएको बेला ती विकल्प रोजेका हुन्।
अहिले सरकारमा जानु र सरकारको वफादार हुनु पनि त्यही नियतिको निरन्तरता हो। उनलाई थाहा छ, उनको विगत यति विवादास्पद र गैरकानूनी कामहरूले भरिएको छ कि उनी कुनै पनि बेला जेल जान सक्छन्। बाध्यताको नाम राम भनिन्छ नि, रवि पनि आफूलाई बचाउन जे पनि गर्ने र जे पनि भन्ने अवस्थामा पुगेका छन्।
दुःख त ती मान्छेहरूको अनुहार देखेर लाग्छ, जो यति गैरकानूनी काम गरेको र विवादास्पद व्यक्तिलाई नेता भनेर काँध हालेर हिँडिरहेका छन्। अझ, रविलाई भगवान् भनेर रातदिन उनको पछि लागेर कालोलाई सेतो भनिरहेका छन्।
अरू के भनौँ, ती चितवनका जनता जसले दुई–दुई पटक त्यति प्रचण्ड बहुमत दिएर पठाए। तर, भयो के जसले नो नट एगेन भन्यो, नानीका बाबु भन्यो अरू पनि के के भन्यो अहिले उसकै कारिन्दा भएको छ। योभन्दा पाखण्ड के हुन्छ? अझै भनिरहेकै छन्, यो संसारमा रविसँग एउटै चिज छ, त्यो हो इमानदारिता। यदि इमानदारिताको परिभाषा यही हुने हो भने बेइमानीको परिभाषा के हुने होला?
अहिले उनै रविको शरीरभरि लागेको सहकारीको फोहोर धुन ओली र प्रचण्ड ज्यान दिएर लागेका छन्। आखिर के का लागि? प्रचण्ड केही समयका लागि प्रधानमन्त्री हुन र ओली त्यसपछि प्रधानमन्त्री हुने उधारो आश्वासनका लागि त हो। नैतिक रूपले यति तन्नम नेता र राज्य संयन्त्रको दोहन त यो स्तम्भकारले अहिलेसम्म कहिले देखेको थिएन। याद गर, समयले तिमीहरूसँग हिसाब माग्ने छ।